जिनत शेख / भद्रपुर (झापा), १८ मंसिर । मैले संसालाई एक सुन्दर थलो सम्झिएको थिए जहाँ मृगतृष्ण रमाउने गाउँ छ, जहाँ शीरीसको फूल फुल्ने सहर छ, जहाँ सुर्यको पहिलो किरणले मुस्कुराउने हिमाल छ र छन् जहाँ साना साना पहाड र पहाडमा फुलेका ति लालिगुराँस र डाँफे मुनालको आवाज, छन् जहाँ समतल भूभाग जहाँ हरेक वर्ष धानका ती बालीहरूले गर्छन् हातेमालो र मेट्छ संसारको भोक र छन् जहाँ नदिका ती अनेकौ मुहान जस्ले मेटाउँछ प्यास सँगसँगै अध्यारो रातलाई। जहाँ रारा छ, फेवाताल छ, आलुबखडाले झुम्मिएको ठाउँ छ, कोइली को मिठो आवाज संगै सुन्दर बिहान र गोधूलि साँझ छ, जहाँ गुन्यो चोलि र दौरा सुरुवाल लगाउने को गाउँ छ, सुन्दरै त छ संसार हैन र ? तर कहाँ हुँदो रहेछ हरेक सुन्दर देखिने चिज सुन्दर! संसार त केवल एउटा प्रतिबिम्बै न हो, जहाँ हरेक ऐनामा सुन्दर मुहार र हरेक तस्विरमा मुस्कुराउँदै गरेको रहस्यमयी अनुहार छ, जहाँ हृदय भारी ईर्ष्या र ओठमा मिठास छ, जहाँ धनको बजारमा मन सस्तो तौलमा भेटिन्छ, जहाँ आफन्त त छन् तर आफ्नो कोही छैन, जहाँ मानिस त छन् तर मानवता छैन। हो यो हो ऐनामा नदेखिने संसार, यो नै हो तस्विरमा नदेखिने संसार।

मेरो जीवन त काँडा र फूल मै अल्झिएको छ। तर आज म जीवन को काँडा र फूल दुवैलाई बयान गर्नेछु। हुन त एउटा सामान्य नेपाली परिवारमा मकवानपुरको स्वच्छ र सुन्दर भुमिमा जन्मेको हो म। मकवानपुरको किल्ला किल्लाबाट वाकिफ भएर हुर्केको मलाई अझ पनि मकवानपुर नै प्यारो छ, मकवानपुरको थिगान नै प्यारो छ। हुन त म घरको साइलो छोरा तर जिम्मेवारी भने जेठो छोरा जस्तै थियो। हुन पनि किन जन नहोस् छोरा जेठो होस् या कान्छो जिम्मेवारी ठूलै हुन्छ। छोरो भएर जन्मिदा खुशी त सब हुन्छन्, गाउँमा पनि मिठाई बाँडिन्छ किनकि छोराको आगमन भन्दा पनि अब घरको जिम्मा उठाउने अर्को पुरुष आइसकेको छ भन्ने कुराको बढी खुशीयाली हुन्छ हाम्रो घर परिवार र समाजमा । पुरुषको जिवन पनि अचम्मको छ, छोरा हुन्जेलसम्म आमा बुबा भाई बहिनी को जिम्मेवारी, श्रीमान हुँदा श्रीमतिको जिम्मेवारी र बुबा बनिसकेको पछि सन्तानको जिम्मेवारी। रोदनै रोदन ले भरिएको जीवन नै पुरुष को जीवन हो। हो त्यो पुरुष भित्रको पुरुष हुँ म।
घर सानो भए पनि सपना ठूला ठूला नै थिए मेरा पनि। ती सपना र जिम्मेवारीको भार बोकेर म पनि हिँडे सपनाको सहर काठमाडौंमा। त्यहाँ जहाँ ठूला ठूला इमारत त छन् तर त्यस्तै इमारत र महल जत्रा मन छैनन्। म त केवल एस.एल.सी दिएर आफ्नो गाउँ, आफ्नो ठाउँ छोडेर इमारतै इमारतमा कतै अलमलिएको एक किशोर जो सपनाको संसारबाट ब्युझिएर झसक्क उठे झैं अलमलियो भिडमा। तर आफूलाई सम्हाल्दै आफ्नो सपना र जिम्मेवारीको भार कम गर्न एउटा होटलमा वेटरको काम गरेर गर्न थाले गुजारा र व्यहोर्न थाले आफैं आफ्नो खर्च पढाईको। हुन त म पनि आफ्नो होस सम्हाले देखि इन्डिपेन्डेन्ट म्यानु हो तर किन हो कुन्नि यो ट्याग पुरुष लाई दिइदैन, मलाई पनि दिइएन। केवल महिला कै लागि हो यो इन्डिपेन्डेन्ट वुमनु वाला ट्याग? म पनि एक इन्डिपेन्डेन्ट म्यान थिए आफ्नो किशोर अवस्थामा, जसको सपना ठूलो र वजनदार थियो। तर प्रशंसा कसैले गरेनन्। मनै त हो नि आखिर पुरुषको पनि। आखिर किन होला यस्तो भेदभाव? पुरुष पनि मानवै त हो नि, जसलाई आफु इन्डिपेन्डेन्ट भएबापत सम्मानित र प्रशंसनीय बात सुन्ने मन भइहाल्छ नि। कति लेखु व्यथा नै व्यथाले भरेको मेरो कथा।
कालो बादलको छायाँ मेरो सुन्दर जीवनमा कसरी आफ्नो बास बनायो पत्तो नै भएन, सोच्ने मौका नै पाइन।
प्लस टु वेटर बनेरै सकियो ब्याचलर वार्डेन बनेरै सकियो त्यसपछि सुरु भयो मेरो सपना यथार्थमा परिणत हुने दिन, जुन दिन देखि म बसे काठमाडौंको सैनिक विद्यालयमा प्रध्यापक भएर पढाउन थाले। वेटर देखि प्रध्यापक सम्मको उपलब्धिमा नेपाल यातायातको भिड कहिले बिर्सिएन। हुन त गाउँबाट आएको थिए चप्पल लगाएर, काठमाडौँमा आएसी मेहनत र प्रयासले जुत्ता लगाउने भए। हुन त साधारणै कुरा हो जुन परिवेश र परिस्थितबाट म आएको थिए, मेरो लागि साधारण थिएन। म पनि कहि कतै इमारते इमारत भएको सहरमा सहजै मिसिए मेरो पनि खुशीका ती मिठा दिन सुरू भयो जसमा मेरो जीवनको प्रेमिका मेरी मुना पनि थिई। आफू मदन सरह माया गर्न नसकेनी उनी मुना सरह माया गर्थी। उनी मेरो जीवनमा हुनु भनेको वसन्त ऋतुको आगमनभई उजाड लागेका रुखका हाँगाहरुमा नयाँ पातका पालुवा बिस्तारै पलाएको झैं थियो। जीवन राम्रै चलेको थियो। चन्दमा नभएको कालो रात पनि सुन्दरै लाग्थ्यो आकाश। उजाड लाग्दो भने केहि थिएन। सुन्दरै त लाग्छ नि सबथोक जीवन आफुले चाहे सरह चलेपछि, सुन्दरै लाग्छ चन्द्रमा मा भएको दाग, सूर्यको तप, सारा संसार, सारा जहान।
सुन्दरै त लाग्छ नि सबथोक जीवन आफुले चाहे सरह चलेपछि, सुन्दरै लाग्छ चन्द्रमा मा भएको दाग, सूर्यको तप, सारा संसार, सारा जहान।
यसरी नै कट्यो मास्टर्स र साल २०६८ मा नेपाल कै पहिलो र सर्वोत्कृष्ट ल क्याम्पस नेपाल ल क्याम्पसमा र पद्मकन्यामा प्रध्यापक भए। जीवन अझ पनि सुन्दर र मिठो भयो, सबैको साथ र माया थियो, र थियो मेरो मुनाको साथ। चन्द्रमा भएपनि काले रात कस्तो हुँदोरहेछ भन्ने बात कहिले सोचेको पनि थिइन र महसुस पनि गरेको थिइन ।
सधै झैँ त्यो रात पनि सुटबुटका साथ बिहानै आफ्नो सदैवको गन्तव्य तिर लागे र समयमा नै फर्कें। जीवन अझ पनि सामान्य नै थियो। रात पर्यो निन्द्रा पनि छिट्टै आयो, निदाए। के थाहा म दैवले बनाएको सामान्य मानवलाई दैवले त्यो रातलाई कालो मसीले लेखेको छ भाग्यमा मेरो। मध्यरातमा सबथोक थियो तर आनन्द थिएन। कालो बादलको छायाँ मेरो सुन्दर जीवनमा कसरी आफ्नो बास बनायो पत्तो नै भएन, सोच्ने मौका नै पाइन। जीवनमा मेरो मेघको गर्जन सहितको आँधी, बतास र पहिरो गयो। मेरो बायाँ पट्टिको हात र खुट्टा चल्नै मानेन। नौं म्याग्निच्यूटको भुकम्प जापानमा मात्रै कहाँ गएको थियो र, मेरो जीवनमा पनि त गयो, मेरो सारा खुशी इमारतै इमारातले भरेको सहरमा अचानक दबियो। चन्द्रमा भएर पनि कालो रातको अर्थ बल्ल बुझेँ, बल्ल बुझेँ समयको चाप। जापानले त फेरी आफूलाई निर्माण गरिहाल्यो तर मैले सकिनँ, सकिनँ पुनः म पहिले जस्तै हास्न, बोल्न र हिँड्न। जीवनै अध्यारो भयो, आकाशै म माथि खसे झैं जीवन भारी भयो, मन भारी भयो।
जापानले त फेरी आफूलाई निर्माण गरिहाल्यो तर मैले सकिनँ, सकिनँ पुनः म पहिले जस्तै हास्न, बोल्न र हिँड्न। जीवनै अध्यारो भयो, आकाशै म माथि खसे झैं जीवन भारी भयो, मन भारी भयो।
पुरुष न हो, महिला जस्तै किन रुन्छौ रुनु हुन्न भन्ने वाचना ले भरिएको समाजमा हुर्केको म पुरुष, त्यो रात त्यो बाँध पनि तेडे, र खुब रोए। त्यो रात त विहान हुन नि कति हो कति समय घण्टौं लाग्यो। सूर्यको पहिलो किरण त कति सुन्दर पो देखिन्छ बिहान तर त्यो दिन झुल्सि रहेको त्यो किरण मेरो आँखा मेरो शरीर र मन जस्तै। म अस्पताल त गए तर कुनै लाभ पाइन। जीवन जमिनको सतह देखि सयौं फिटको गहिरो इनारमा पुग्यो। त्यो गहिरो इनारबाट पानी कम गर्ने प्रयास त सबैले गरे तर मेरो हृदय र जीवनबाट कम भएन पिडा। म त्यो अध्यारो इनारमा कयौँ रात बिताए या यो भनौं कि त्यो इनार नै बन्यो मेरो घर। जीवन त नर्क नै बन्यो मेरो। अब त मानिसको नजरले पनि बोच्न थाल्यो, लाग्न थाल्यो हरेकको नजरले मलाई हेरिरहेको छ। कसैले के भएको हो भनि प्रश्न गर्छ कि भन्ने डरले सताउन थाल्यो। हुन त सधैं मजाले हिँडेको म अचानक यस्तो हुँदा किन नगर्थे र प्रश्न, बात नै त्यस्तो थियो।
धाउन त काठमाडौंका सबै अस्पताल धाए नपुगेको र नगएको कहाँ कि बाँकी रहयो र ठाउँ। तर नाजुक को नाजुक नै रहयो मेरो अवस्था, पीडाको पीडा नै रहयो मेरो घाउ । त्यहाँ सम्म पुग्न थाले जहाँ विश्वास पनि यस्तो हुन पुग्यो कि अन्धविश्वासमा पनि विश्वास हुन थाल्यो । आत्मशंका र हिनता ग्रन्थिले यति छेप्न थाल्यो कि बिहानको सूर्य नदेखु झैं लाग्न थाल्यो। तर मैले मलाई भन्दा पनि बढी मलाई माया गर्ने मेरा बाबु आमा र सधैँ झैं आज पनि माया गरिरहने मेरी मुना को साथ र हौसलाले कतै बाँच्ने आशा पलायो। मेरो अस्तित्वले कसैको बेरङ्गीन जिन्दगीलाई रङ्गीन बनाएको देखे पश्चात मरिसकेको दुभो मा पानीको सिँचाइले पुनः हराभरा बनाए झैं म मा पनि बाँच्ने रहर पलायो। वसन्त देखि हिउँद र हिउँद देखि वसन्त ऋतुको आगमन जस्तै मेरो सोँचमा पनि परिवर्तन आयो। लाग्दै गयो यस्तो, यस्तै त रहेछ नि जीवन कहिले घाम त कहिले छाया कहिल्यै आँधी त कहिले बतास कहिले सुख त कहिले दुस्ख भनी मन बुझाएर आफूलाई उही अवस्थामा अंगाल्न थाले। यसरी नै बिति गयो जीवनको अझ दुई वर्ष।
अनि सुरु भयो मेरो श्रीमान वाला जिन्दगी र हरेक सुख दुःखमा साथ दिने मुना नै भई मेरी सँगिनी। उसको साथ र समर्थन नै अतुलनीय थियो कि जीवन अझै सहज हुँदै गयो। प्रयास पनि जारी नै थियो उपचार पनि जारी नै थियो। बिति गयो वर्ष महिना र दिन म पनि रमाउन थाले आफ्नै परिस्थिति र रमाएरै पढाउन थाले ल क्याम्पस र पद्मकन्यामा। प्रश्न त सबैले गर्थे, सर के भयो हजुरलाई तर उनीहरुलाई के थाहा, गर्थे त्यही प्रश्न आफैँले आफूलाई के भयो मलाई यसरी नै बितिगयो जीवनको अझ तेह्र वर्ष।
अरु दिन जस्तै सामान्य थियो त्यो दिन पनि तर संयोग भनौं कि भनौं भगवान को इशारा। म त गएको थिए अस्पताल दिदीलाई तर उपचार म स्वयमको सुरु भयो।
भगवानको इसारा नै त रहेछ नि कहिले भेट नहुने मेरो गाउँको साथी दिदी भएकै अस्पतालमा भेट हुन पुग्यो। कुरा हुँदै जाने क्रममा उहाँले मेरो अवस्थाबारे जान्न खोज्नु भयो र उहाँले बताउनुभयो आफूले चिनेकै एकजना डाक्टरको बारेमा। उनको सल्लाहले दिदी हेर्ने हेर्न गएको म त्यही क्षण निको हुने झिनो आशा बोकेर पाटन अस्पतालको डिनको ढोकासम्म पुगे। डिन सर सँगको मेरो पहिलो नै भेट थियो तर पनि उहाँको बोली, व्यवहार म प्रतिको सम्मानले मन प्रशन्न भयो। वर्षौं देखि चिने झैं महसुस भयो, आफ्नोपन को आभास भयो। कुरा हुँदै जाने क्रममा उहाँले भन्नुभयो,ू सर हामीबाट तपाईंको उपचार हुन त असम्भव झै देखिन्छ, तर म तपाईंलाई एक जना भाईको नम्बर दिन्छु, उहाँ ग्रान्डी इन्टरनेसनल अस्पतालमा न्यूरोलोजिस्ट हुनहुन्छ। म पनि निको हुने आश बोकेर फेरि त्यही बखत आफ्नो सबै रिपोर्ट बोकेर हिडेँ ग्रान्डी अस्पताल तिर। त्यो दिन भेट नै भएन।
भोलिपल्ट फेरी गए, उहाँको दिउँसोको ३ बजेसम्म मात्रै बिरामी हेर्ने जिम्मेवारी थियो तर म भने उनको क्याबिन सम्म पुग्दा तीन बजिसकेको थियोस मनमा डर पनि थियो, उहाँसँग भेट हुन्छ कि हुन्न भनेर। तर त्यो दिन म माथि भगवान् को कृपा पनि अपार नै थियो, हुनु पनि जायज नै हो आखिर यो अवस्था सम्म पुर्याउने पनि त भगवान् ले नै हुन्। धन्न डाक्टर साब आफ्नो क्याबेन मै रहनुभएको रहेछ। आशले भरेको मेरो भेट भयो उहाँसँग र उहाँले मेरा पुराना सबै रिपोर्ट चेक गर्नुभयो। उहाँले मलाई हिँडाएर पनि हेर्नुभयो,र उहाँले मलाई भन्नुभयो, तपाईंलाई न्यूरोलोजिकल प्रोब्लम भएको हो। म तपाईलाई चाँडै दगुर्ने बनाउने छु, म गर्नेछु तपाइको उपचार। मेरो हृदय खुशीले रसायो। उहाँले मेरो अवस्थाबारे पत्ता लगाउनुभयो र सँगसँगै औषधि पनि दिनुभयो मेरो लागि यो तेह्र वर्षको समयावधिमा प्राप्त भएको सबैभन्दा खुशी र उपलब्धि थियो।
आशै आशले भरिएको म खुशी हुँदै औषधि लिएर फर्कें। दुई तीन दिनको औषधीको सेवन ले पीडै पीडाको दलदलबाट थोरै-थोरै निस्किन थाले। मेरो खुशीको कुनै सीमै रहेन। सुकिसकेको रुखमा नयाँ टुसा पलाए झैं मेरो जीवनको पनि नयाँ सुरुवात भयो, पलायो मेरो जीवनमा पनि खुशीका नयाँ टुसा। मेरो तेह्र वर्षअघि रोकिएको जीवन फेरि त्यहीँबाट सुरु भयो। अज फेरि पनि पहिलेजस्तै हिँड्न थालेको छु। जीवनमा फेरि मेरो खुशी छायो। हरायो मेरो आकाशको कालो बादल। आजफेरी वर्षौंपछि सूर्यको पहिलो किरणले मन मिठो र आँखा आनन्दित बनायो। परिस्थितिबाट अलमलिएको म पि.एच.डी. गरुँ कि नगरू भन्ने अलमलमा परेको थिएँ तर निको भइसकेको म अब आफूले नै आफूलाई पि.एच.डी. को डिग्री लिने बाचा गरिसके।
लेखेकि छिन् मेरा व्यथा नै व्यथाले भरिएको यो मिठो कथा मेरै एक विद्यार्थीले। म त केवल एक पात्र हुँ।
नाम: बच्चुराम घिमिरे
जन्मस्थान: थिगान-३, मकवानपुर
जन्म मिति: २०४१ जेष्ठ १३
शिक्षा: एस.एल.सी.(२०५७), आइ.ए.(२०५९), बी.ए.(२०६२), एम.ए(२०६४), एक वर्षे बी.एड (२०६६), मास्टर्स अफ फिलोसोफि इन इकोनोमिक्स (२०६९)
बिरामी भएको वर्ष: २०६८
विवाह: २०७१
निको भएको वर्ष: २०८०














