युवाको भविष्य कसको स्वार्थमा ?

हिजोआज एउटा कुरा बारम्बार मनमा आउँछ।

 नेपाल, विशेष गरी मधेश प्रदेशमा, राम्रो कामका लागि मानिस खोज्न गाह्रो हुन्छ। तर कुनै आन्दोलन वा तनावपूर्ण घटनामा भने १२–१८ वर्षका किशोरहरू ठूलो संख्यामा सडकमा देखिन्छन्। त्यसबेला एकपटक सोच्नैपर्ने हुन्छ यति धेरै मोटरसाइकल कहाँबाट आउँछन्? पेट्रोल कसले हाल्छ? जहा बेरोजगारी ठुलो समस्या छ र सबैभन्दा महत्वपूर्ण कुरा, यसको वास्तविक उद्देश्य कसको पूरा भइरहेको छ?

 

कृपया कसैको उक्साहट, अफवाह वा भावनात्मक बहकाउमा परेर आफ्नो भविष्य र परिवारको खुसी दाउमा नलगाऔं।

 

याद राख्नुहोस्, यदि कुनै अप्रिय घटना भयो भने तपाईंलाई उक्साउनेहरू दुई–चार दिन सहानुभूति देखाउन आउलान्। तर त्यसपछि तपाईंको घरमा चुलो बल्यो कि बलेन, तपाईंका बालबालिका कस्ता छन् भन्ने चिन्ता गर्ने तपाईंको आफ्नै परिवार र छिमेकी मात्र हुन्छन्।

 

धर्म जुनसुकै होस्, कुनै पनि धर्मले घृणा, हिंसा वा वैमनस्य सिकाउँदैन। धर्मले सत्य, प्रेम, करुणा, क्षमा, दया र मानवताको बाटो देखाउँछ। यदि कसैले धर्मको नाममा मानिसलाई एकअर्काविरुद्ध उभ्याउँछ भने उसले धर्म होइन, आफ्नो स्वार्थ पूरा गरिरहेको हुन्छ।

 

हामी सबैभन्दा पहिले असल मानिस बनौं। त्यसपछि मात्र असल धार्मिक व्यक्ति बन्न सकिन्छ। किनकि मानवता सबै धर्मको साझा आधार हो।  हाम्रो बोलीमा सम्मान, व्यवहारमा प्रेम, मनमा सहिष्णुता र समाजमा एकता कायम गर्न सक्यौं भने त्यही नै साँचो धर्म हो।

 

आउनुहोस्, जात, धर्म, भाषा र समुदायभन्दा माथि उठेर एकअर्काको सम्मान गरौं। शान्ति, सद्भाव, भाइचारा र मानवतालाई बलियो बनाऔं। यही हाम्रो समाज, हाम्रो देश र भावी पुस्ताप्रतिको सबैभन्दा ठूलो जिम्मेवारी हो।

 

“असल धर्म भनेको असल मानिस बन्नु हो, र असल मानिसले कहिल्यै घृणा फैलाउँदैन।”

Facebook
Twitter
LinkedIn
Pinterest
Pocket
WhatsApp

Leave a Reply

सम्बन्धित खबर

ताजा समाचार

लोकप्रिय समाचार