बीआरआई परियोजना र अनुदानमा कांग्रेस–एमाले मतैक्य, संरचनामा फरक मत

बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) अन्तर्गत सञ्चालन गरिने परियोजना र लगानीका विषयमा सत्तारूढ कांग्रेस र एमालेबीच साझा धारणा बने पनि सम्झौताको संरचनागत अवधारणामा अझै मत मिल्न सकेको छैन ।दुई दलबीच सहमति नबन्दै बिहीबारै परराष्ट्रमन्त्री आरजु राणा देउवा भने प्रधानमन्त्री केपी शर्मा ओलीको भ्रमणको तयारीका लागि चीन प्रस्थान गरेकी छन् ।चीनले हस्ताक्षरका लागि प्रस्ताव गरेको ‘बीआरआई कार्यान्वयन योजना’ शीर्षकलाई नै संशोधन गरेर ‘बीआरआई सहकार्य फ्रेमवर्क’ नामकरण गर्नुपर्ने अडान कांग्रेसले लिइरहेको छ । त्यसैभित्र कनेक्टिभिटी, आर्थिक सहकार्य र पूर्वाधारलाई प्राथमिकता दिने गरी मस्यौदा तयार पारेर कांग्रेसले यसअघि नै प्रधानमन्त्री ओलीलाई बुझाएको थियो ।

 

कांग्रेसका एक नेताका अनुसार एमालेले भने चीनले पठाएको प्रस्तावमा शीर्षक कायमै राखेर विषयवस्तुमा संशोधन गरेर अघि बढ्न चाहेको छ । कांग्रेसले तयार गरेकै जस्तो मस्यौदा लिएर जाँदा चिनियाँ पक्षले सहजै नस्विकार्ने प्रधानमन्त्री ओलीको धारणा रहेको छ ।प्रधानमन्त्री ओलीको भ्रमण नजिकिएको र भ्रमण तयारीका लागि परराष्ट्रमन्त्री राणा चीन प्रस्थान गरिसकेकी हुनाले बीआरआईका विषयमा शुक्रबार जसरी पनि अन्तिम टुंगो लगाउने कांग्रेस र एमालेको तयारी छ ।यता सहमति हुन नसके परराष्ट्रमन्त्री राणालाई नेपालले अघि सार्ने एजेन्डाका विषयमा चिनियाँ अधिकारीहरूसँग बेइजिङमा प्रस्ट कुरा गर्न असहज हुने नेताहरूको भनाइ छ । ‘अन्तर्वस्तुमा हामी सहमतिनिकट छौं । मस्यौदामा चिनियाँ पक्षलाई समेत स्वीकार्य हुने गरी कसरी अघि बढाउने भन्नेबारेमा कुरा मिल्न बाँकी छ,’ एमालेका एक नेताले भने ।

ती नेताका अनुसार चीनले विगतमा प्रतिबद्धता जनाएर पनि अघि नबढाइएका परियोजनामा काम गर्ने, अनुदानमा केही परियोजना अघि सार्ने विषयमा कांग्रेस र एमाले सहमत छन् । बीआरआईअन्तर्गत ऋण नलिने विषयमा दुई दलले सहमति गरिसकेका छन् । ‘चीनले प्रस्ताव गरेको बीआरआई कार्यान्वयन योजना शब्दावलीलाई कायमै राख्ने कि कांग्रेसले प्रस्ताव गरेअनुसार बीआरआई सहकार्य फ्रेमवर्क उल्लेख गर्ने भन्नेमा मात्र सहमति जुटाउन बाँकी छ,’ एमालेका ती नेताले भने ।

 

बीआरआईका विषयमा सहमति जुटाउन दुई दलका नेताहरूले केही दिनयता लगातार गृहकार्य गरिरहेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार पनि दुई दलका नेता सम्मिलित कार्यदलमा लामो छलफल भएको थियो । बैठकमा एमालेबाट प्रधानमन्त्रीका आर्थिक तथा विकास सल्लाहकार युवराज खतिवडा, राजनीतिक सल्लाहकार विष्णु रिमाल र कांग्रेसबाट महामन्त्री गगन थापा थिए ।प्राविधिक सहयोगका लागि अधिवक्ता सेमन्त दाहाललाई समेत बैठकमा बोलाइएको थियो । तर संरचनागत अवधारणामै सहमति बन्न नसकेपछि शुक्रबार फेरि बैठक बस्ने भएको हो । ‘सम्झौता गरिने दस्ताबेजको शीर्षक बीआरआई कार्यान्वयन योजना र सहायक फ्रेमवर्कमध्ये एउटा राख्ने गरी शुक्रबार सहमति गर्छौं,’ कार्यदलका एक सदस्यले भने ।

 

चीन र नेपालका अधिकारीले बीआरआईसम्बन्धी समझदारीपत्रमा सन् २०१७ मा हस्ताक्षर गरेका थिए । त्यही समझदारीअनुरूप परियोजना अघि बढाउन ‘बीआरआई कार्यान्वयन योजना’ मा सम्झौता गर्न चीनले चाहेको छ र यसैका लागि उसले नेपाललाई सन् २०२० देखि बारम्बार ताकेता गर्दै आएको छ । नेपालमा अहिलेसम्म बीआरआईअन्तर्गत कुनै परियोजना सुरु गरिएको छैन ।बीआरआईअन्तर्गत करिब एक दर्जन परियोजना अनुदानमा निर्माण गरिदिन चीनलाई प्रस्ताव गर्ने साझा धारणा कांग्रेस र एमालेले बनाएका छन् । एक नेताका अनुसार काठमाडौं–रसुवागढी सडकको स्तरोन्नति, काठमाडौंको टोखादेखि नुवाकोटको छहरेसम्म सुरुङ मार्ग, मुस्ताङको कोरला नाकामा नेपालतर्फ पूर्वाधार विकास, मदन भण्डारी विश्वविद्यालय निर्माण, डडेलधुरामा खेलकुद रंगशाला निर्माण, झापामा पार्क निर्माण, सिमकोट–हिल्सा सडक विस्तार, गल्छी–रसुवागढी प्रसारण लाइन र एक जलविद्युत् परियोजनाको सूची प्रस्ताव गर्ने तयारी छ ।

 

परराष्ट्रमन्त्री राणाले चिनियाँ समकक्षीसँग भेट गर्नुअघि नै दलहरूबीच सहमति गरिने नेताहरूले जनाएका छन् ।

कार्यदलमा सहमति भएपछि मस्यौदा तयार पारेर प्रधानमन्त्री ओलीलाई हस्तान्तरण गर्नेछन् । त्यसलाई प्रधानमन्त्री ओली र परराष्ट्रमन्त्री राणाले चिनियाँ पक्षलाई जानकारी गराउनेछन् । उक्त दस्ताबेजमा चीन सहमत भए ओलीको आगामी साता हुने चीन भ्रमणका दौरान दुई पक्षबीचमा हस्ताक्षर हुनेछ ।

प्रधानमन्त्री ओलीको चीन भ्रमण स्वीकृत

प्रधानमन्त्री केपी शर्मा ओलीको सोमबारदेखि हुने चारदिने चीन भ्रमणलाई मन्त्रिपरिषद् बैठकले बिहीबार स्वीकृत गरेको छ । प्रधानमन्त्री ओली ३९ सदस्यीय सरकारी टोलीको नेतृत्व गर्दै चीन जानेछन् । एक मन्त्रीका अनुसार निजी क्षेत्रबाट ४८ जना पनि भ्रमण टोलीमा रहनेछन् ।

भ्रमण टोलीमा प्रधानमन्त्री पत्नी राधिका शाक्य, परराष्ट्रमन्त्री राणा, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णु रिमाल, प्रधानमन्त्रीकै आर्थिक तथा विकास सल्लाहकार युवराज खतिवडा रहनेछन् । टोलीमा सांसदहरू अर्जुननरसिंह केसी, बिजुला रायमाझी, रेखा शर्मा, लीलानाथ श्रेष्ठ, सीता गुरुङ, दीपक कार्की, सर्वेन्द्रनाथ शुक्लालगायत छन् ।

मुख्यसचिव एकनारायण अर्याल, परराष्ट्रका निमित्त सचिव अमृतकुमार राई, लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवाली, प्रधानमन्त्री ओलीकी निजी चिकित्सक डा. दिव्या सिंह शाह, ओलीका स्वकीय सचिव राजेश बज्राचार्य, परराष्ट्रका सहसचिव कृष्णप्रसाद ढकाल, परराष्ट्रमन्त्री राणाका स्वकीय कमल रावललगायत पनि भ्रमण दलमा हुनेछन् । निजी क्षेत्रबाट नेपाल उद्योग वाणिज्य संघको नेतृत्वमा व्यापारिक समुदाय चीन भ्रमणमा जानेछ ।

मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्री ओलीले एजेन्डाहरूका विषयमा पनि मन्त्रीहरूसँग छलफल गरेका थिए । प्रधानमन्त्री ओलीको भ्रमणको तयारीका लागि परराष्ट्रमन्त्री आरजु राणा देउवा बिहीबार चीनको छेन्दु पुगेकी छन् । उनले शुक्रबार चिनियाँ विदेशमन्त्री वाङ यीसँग द्विपक्षीय भेटवार्ता गर्नेछिन् ।

प्रधानमन्त्री ओली नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै सोमबार बेइजिङ पुग्नेछन् । उनले मंगलबार चिनियाँ समकक्षी ली छ्याङसँग द्विपक्षीय भेटवार्ता गर्नेछन् । त्यही दिन राष्ट्रपति सी चिनफिङसँग पनि भेटवार्ता गर्ने कार्यक्रम रहेको छ । प्रधानमन्त्री ओली बुधबार पनि भेटवार्ता र कार्यक्रममा सामेल हुने र बिहीबार स्वदेश फर्कने कार्यक्रम छ । प्रधानमन्त्री ओली हिमालय एयरलाइन्सबाट चीन जाने तयारी छ ।

Facebook
Twitter
LinkedIn
Pinterest
Pocket
WhatsApp

सम्बन्धित खबर

ताजा समाचार

लोकप्रिय समाचार