नेपाल प्रिमियर लिग (एनपीएल) को फ्रेन्चाइज टोली सुदूरपश्चिम रोयल्सका मेन्टर ब्राड हज नेपाल आएका छन् । अस्ट्रेलियाका पूर्वखेलाडी हज सोमबार नेपाल आएका हुन् ।
उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा टोलीका मालिक स्वतन्त्रप्रताप शाहले स्वागत गरेका थिए । खेलाडीको भूमिकामा अस्ट्रेलियालाई विश्व च्याम्पियन बनाउन महत्वपूर्ण भूमिका निर्वाह गरेका उनले विश्वका अधिकांश फ्रेन्चाइज लिग खेलेको अनुभव छ । सुदूरपश्चिम रोयल्सको मार्की खेलाडी सुदूरपश्चिम प्रदेशकै दीपेन्द्रसिंह ऐरी रछन् । मेन्टरमा अस्ट्रेलियाका ब्राड हज र मुख्य प्रशिक्षकमा जगत टमाटा छन् । रोयल्सले आफ्नो कोटाका चार विदेशी खेलाडीलाई पनि अनुबन्ध गरिसकेको छ । ब्रान्डन मक्मलेन (स्कटल्यान्ड), सेफ अलि जेब (इङ्ल्यान्ड), स्कट कुगेलेइन (न्युजिल्यान्ड) र रोहन मुस्तफा (यूएई) लाई टिममा समावेश गरेको छ ।