प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध दुष्प्रचार र अफवाह फैलाएको आरोपमा पक्राउ परेका व्यवसायी दुर्गा प्रसाईंलाई थप अनुसन्धान गर्न साइबर ब्यूरो भोटाहिटी पठाइएको छ।
बुधबार बिहान भक्तपुरस्थित निवासबाट पक्राउ परेका प्रसाईंलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले वीर अस्पतालमा स्वास्थ्य जाँचपछि थप अनुसन्धानका लागि साइबर ब्यूरोमा पठाएको सीआईबीका प्रवक्ता होबिन्द्र बोगटीले जानकारी दिए।
विद्युतीय कारोबार ऐनअन्तर्गतको कसूरमा उनीमाथि कारवाही अगाडि बढाइने प्रहरीले जनाएको छ। सामाजिक सञ्जालमा कम्बोडियामा ओलीको लगानी रहेको भन्दै उनले सार्वजनिक गरेको कागजातमा प्रधानमन्त्री ओलीको नामसहित र नक्कली हस्ताक्षर रहेको थियो।
साइबरसम्बन्धी कसुरमा असोज १५ गते जिल्ला अदालत काठमाडौंले प्रसाईंलाई धरौटीमा छोड्न आदेश दिएको थियो। एक लाख रुपैयाँ धरौटी बुझाएर उनी छुटेका थिए। ‘फेक डकुमेन्ट’ को सहारामा प्रधानमन्त्री ओलीविरुद्ध दुष्प्रचार गरेको भन्दै प्रहरीले उनलाई पुन: नियन्त्रणमा लिएको हो।
उनलाई विद्युतीय कारोबार ऐनको दफा ४७ अनुसारको कसुर गरेको अभियोगमा ५ वर्ष कैद सजायको मागदावीसहित यसअघि मुद्दा दायर भएको छ। उक्त मुद्दाको फैसला आउन भने बाँकी नै छ।