विराटनगर — मोरङको धनपालथान–४ कर्सियास्थित उमा गौरी कृषि सहकारी संस्थाको रकम अपचलन अनुसन्धानका लागि अध्यक्षसहित १० जनाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । प्रदेश सहकारी रजिस्ट्रार तथा प्रशिक्षण कार्यालयले अनुसन्धानका लागि सिफारिस गरेका व्यक्तिलाई पक्राउ गर्न प्रहरीले अदालतबाट अनुमति लिएको हो ।
सहकारीका अध्यक्ष धनपालथान–४ का शम्भुप्रसाद रौनियार, सहकारीका उपाध्यक्ष कटहरी–२ का लक्ष्मण साह, सचिव धनपालथान–४ का आलम अन्सारी मियाँ, कोषाध्यक्ष धनपालथान–४ का शम्भुप्रसाद सिंह र सदस्यहरू जहदा–४ का आमोद मण्डल, धनपालथान–४ का रोशन राजवंशी र धनपालथान–२ का जितमान ठाकुरविरुद्ध पक्राउ पुर्जी जारी गरिएको छ । सहकारीको लेखा समितिका संयोजक विजयकुमार यादव, सदस्यहरू सुरेन्द्रकुमार राजवंशी र अशोककुमार विश्वासविरुद्ध पनि पक्राउ पुर्जी जारी भएको प्रहरीले जनाएको छ ।
रकम अपचलनमा संलग्न रहेको आरोप लागेकी पूर्वसञ्चालक समिति सदस्य अञ्जला कोइरालाविरुद्ध भने पक्राउ पुर्जी जारी गरिएको छैन । अञ्जला प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलकी पत्नी हुन् । प्रदेश सहकारी रजिस्ट्रार तथा प्रशिक्षण कार्यालयले उमागौरी कृषि सहकारीको रकम अपचलनमा अनुसन्धान गर्न गत भदौ २४ मा रंगेली प्रहरीलाई लेखेको पत्रमा अञ्जलाबाहेक १० जनाको नाम थियो । कोशी प्रदेशको उद्योग, कृषि तथा सहकारी मन्त्रालयले पनि उही भाषाको पत्र प्रहरीलाई पठाएको थियो ।
सहकारीका सेयर सदस्य श्यामप्रसाद यादवले अञ्जलाबाहेकका पदाधिकारीलाई मात्रै पक्राउ गर्ने कार्य न्यायोचित नभएको बताए । ‘अञ्जलाको संलग्नतासम्बन्धी विवरण मिडियामा आइरहेको छ । तर उनलाई बचाउने काममा राज्य आफैं लाग्नु गलत छ,’ उनले भने ।
२०६८ सालमा स्थापित उमा गौरी कृषि सहकारीमा अञ्जला दुई कार्यकाल सदस्य थिइन् । उनले २०७८ माघ ५ मा सहकारीबाट राजीनामा दिएको बताएकी छन् । आरएसडीसी लघुवित्त संस्थाबाट उक्त सहकारीले ऋण लिने निर्णय गर्दा अञ्जलाले ‘माइन्युट’ मा हस्ताक्षर गरेको पाइएको छ । आरएसडीसीले उच्च अदालत विराटनगरमा उपलब्ध गराएको कागजातअनुसार ०७७ पुस २९ मा थप ३ करोड रुपैयाँ कर्जा माग गर्ने सहकारीको निर्णयमा पनि अञ्जलाको हस्ताक्षर छ ।
‘माइन्युट’ मा उल्लेख गरिएको विवरणअनुसार सहकारीले ०७७ पुस २९ अगावै पनि लघुवित्तबाट ४ करोड २५ लाख कर्जा लिई कारोबार गरिरहेको र लगानी विस्तार गर्न थप ३ करोड कर्जा माग गर्ने निर्णय भएको थियो । उक्त लघुवित्तबाट प्राप्त हुने कर्जा सहकारीका नाममा नबिल बैंकको विराटनगर शाखामा रहेको खातामा जम्मा गर्न आग्रह गर्ने पनि ‘माइन्युट’ मा उल्लेख छ । कर्जा लिने विषयमा भएका तीन वटै बैठकमा संस्थाका अध्यक्ष शम्भुप्रसाद रौनियार, उपाध्यक्ष दिलमाया राई, कोषाध्यक्ष शम्भुप्रसाद सिंह, सचिव आलम अन्सारी मियाँ तथा सञ्चालकहरू अञ्जला कोइराला, आमोद मण्डल र रोशन राजवंशी उपस्थित थिए ।
उमा गौरी कृषि सहकारीले ०७७ असोज २८, ०७७ फागुन १३ र ०७८ असार २४ मा लघुवित्तबाट ऋण लिएको र अञ्जलाले सहकारीको सञ्चालक समितिको पदाधिकारीका हैसियतमा सामूहिक/व्यक्तिगत धनजमानी दिएको आरएसडीसीको दाबी छ । सहकारीले समयमा ऋण चुक्ता नगरेको कारण देखाउँदै अञ्जलासहितका तत्कालीन सञ्चालक समितिका पदाधिकारीलाई कर्जा सूचना केन्द्रको कालोसूचीमा राखिएको थियो । आरएसडीसीले उमा गौरी सहकारीका नाममा ०७९ कात्तिक १६ मा निकालेको कर्जा चुक्तासम्बन्धी सूचनामा अन्य सञ्चालकसँगै अञ्जलाको पनि नाम र तस्बिर छापिएको थियो ।