दमक, १६ मंसिर । झापाको दमकमा आज (शनिबार) देखि पातञ्जल योग समिति नेपालको तेस्रो राष्ट्रिय महाधिवेशन शुरु हुने भएको छ ।
दमकको पशुपति मन्दिरस्थित पशुपति सेवा सदनमा मसिंर १६ र १७ गते सम्म हुने महाधिवेशनमा सहभागी हुन देशभरका ७ वटै प्रदेशबाट करिब १५० भन्दा धेरै प्रतिनिधिहरु दमकमा भेला भएका छन ।
आइतवार सम्म चल्ने महाधिबेशनले ५१ सदस्यीय नयाँ नेतृत्व चयन गर्ने जनाईएको छ । आयोजक समितिले हिजो शुक्रबार दमकमा रहेको पशुपति मन्दिरमा पत्रकार सम्मेलन गरि महाधिवेशनको सबै तयारी पूरा भएको जनाएको छ । पत्रकार सम्मेलनमा योग समितिका अध्यक्ष बालमुकुन्द सुवाल, उपाध्यक्ष होमप्रसाद गौतम, सुवर्णलाल चित्रकार , महासचिव नवराज काफ्लेले महाधिबेशनको सन्दर्भमा आ–आफना विचार राखेका थिए ।
स्वस्थ्य जीवनको चाहना,योग शिक्षा र साधना भन्ने मुख्य नाराका साथ विस २०७५ साल असोज ५ गते स्थापना भएको यस पातञ्जल योग समितिले देशका सातवटै प्रदेश ,जिल्ला तथा गाउँ,नगरसम्म आफनो सञ्जाल विस्तार गरिसकेको छ ।
बालसन्त मोहनशरण देवाचार्यले उद्घाटन गर्ने महाधिबेशनमा देशभरिका योग समितिबाट १५० जना बढी प्रतिनिधि, पर्यवेक्षकहरुको सहभागिता रहने महाधिबेशन तयारी मूल आयोजक समितिका संयोजक रहेका महासचिव काफ्लेले जानकारी दिए ।
महाधिबेशनको कार्यक्रम अन्तर्गत शुक्रबार खानपान जीवन शैली सम्बन्धी जागरण प्रवचन आयोजना गरिएको र शनिबार विहान योग अभ्यास कार्यक्रम, विहान ७ः३० वजे प्रभातफेरि, निशुल्क स्वास्थ्य परीक्षण,रक्तदान गर्नुका साथै दिउँसो महाधिबेशनको उद्घाटन कार्यक्रम तय गरिएको उनले बताए ।
महाधिबेशनको शनिवारनै साँझ आयोजना हुने बन्दसत्रमा संस्थाको सांगठानिक, आर्थिक प्रतिवेदनमाथि वृहत छलफल गरिने र आइतवार भने नयाँ नेतृत्वका लागि निर्वाचन कार्यक्रम शुरु गरिने बताईएको छ । महाधिबेशनको बन्दसत्रले योगको सन्दर्भमा दमक घोषणापत्र समेत सार्वजनिक गरिने कार्यक्रम रहेको अध्यक्ष सुवालले बताए ।















