रासस: काठमाडौँ, ११ मङ्सिर : काठमाडौँ महानगरपालिकाले बबरमहलमा अन डिमान्ड पेडेष्ट्रियन क्रसिङ् (पेलिकन) सडक पार गर्ने प्रणाली जडान गरेको छ । यस प्रणाली जेब्रा क्रसतिर हरियो र सवारी गुड्नेतर्फको सडकमा रातो बत्ती बालेर पैदल यात्रीले सडक पार गर्ने प्रणाली हो ।
यो प्रणाली कामपाले पहिलोपटक २०७९ साल फागुन १३ गते बागदरबारमा परीक्षण गरेको थियो । कामपाका सडक सुरक्षाविज्ञ प्रशान्त खरेलका अनुसार बबरमहलमा हुने दुर्घटना कम गर्न प्रणाली चाहिएकाले आजदेखि सुरु भएको हो ।
विज्ञ खरेलका अनुसार सडकको चौडाइ धेरै भएकाले बबरमहलमा चारवटा पोल राखिएका छन् । पैदलयात्रीले स्विच थिचेपछिको पाँच सेकेन्डमा जेब्रा क्रसतर्फ हरियो र सवारी गुड्नेतर्फ रातो बत्ती बल्छ । एकपटक थिचेपछि ३० सेकेन्ड बत्ती बल्छ ।
पहिलो ३० सेकेन्ड बत्ती बलेको अवधि सकिएपछिको दुई मिनेटमा मात्र पैदलयात्रीले अर्को पटक बटन थिच्न सक्छन् । दुई मिनेटपछि मात्र जेब्रा क्रसतर्फ फेरि बत्ती बाल्न सकिन्छ । यसबाट प्राप्त नतिजाका आधारका कामपाको ३६ वटा विद्यालय क्षेत्रमा प्रणाली विकास गर्ने योजना छ । यसले बालिबालिकालाई सडक सुरक्षा प्रदान सहयोग पुग्छ भने भविष्यका सडक प्रयोगकर्ता (बालबालिका) लाई सडक सुरक्षाका विषयमा व्यावहारिक ज्ञान दिन सकिन्छ । प्रणाली जडानका लागि अन्य वडाहरूबाट पनि माग आउन थालेको खरेलले बताउनुभयो ।
बबरमहलमा राखिएको उक्त प्रणाली जडान गर्न करिब रु सात लाख ६४ हजार खर्च भएको महानगरले जनाएको छ । प्रणाली जडानका लागि दुईवटा मात्र पोल राख्ने हो भने रु पाँच लाख ४० हजार लागत आउने खरेलले बताउनुभयो । यस क्षेत्रमा पैदलयात्रीको ठूलो चाप छ । यसकारण पटकपटक पैदल यात्री दुर्घटनामा पर्ने गरेका छन् । प्रणाली जडान भएपछि पैदल यात्रीहरूले सवारी साधन रोकिएको यकिन भएपछि मात्र सडक पार गर्ने अवसर हुने विश्वास कामपाको छ ।–––















