सुदूरका मौलिक गीतमा जमेकी ‘रोजी’

कञ्चनपुर, ११ मङ्सिर : बाल्यकालदेखि नै नृत्यमा औधी चाहना राख्ने अछाम साफेँबगरकी रोजी कुँवर यतिबेला सुदूरपश्चिमका मौलिक गीत, देउडामा अभिनयका साथै यहाँ हुने साङ्गीतिक महोत्सवका स्टेज कार्यक्रममा व्यस्त हुनुहुन्छ ।

सुदूरपश्चिमको युवापुस्ताका कलाकारमा चल्तीकी नृत्याङ्गना रोजीले २०७३ सालमा ‘सुदूरपश्चिम मेरा ढकमक्क फुली’को देउडा गीतबाट कला क्षेत्रमा डेब्यु गर्नुभएको थियो । उहाँले सुदूर र कर्णाली प्रदेशका विभिन्न जिल्लामा पुगेर एक सयभन्दा बढी देउडा तथा अन्य गीतमा अभिनय गरिसकेको बताउनुभयो ।

“अछामबाट अध्ययनका लागि काठमाडौँ पुग्दासम्म नृत्यलाई पछ्याइरहेँ”, देउडा गीत छायाँकनका क्रममा महेन्द्रनगरमा भेटिनुभएकी रोजीले भन्नुभयो, “सानैदेखिको चाहना नै कलाकारितामा जम्ने थियो सोहीअनुसार अगाडि बढ्दै छु ।” सुदूर र कर्णालीका जिल्लामा गाइने प्रचलित गीत देउडालगायत यहाँका लोकसंस्कृति झल्किने मौलिक गीतहरूको म्युजिक भिडियो बन्ने क्रम विगतभन्दा अधिक छ ।

पुराना पुस्ताका देउडा गायकदेखि अहिले युवा पुस्ताका कलाकार गीत–सङ्गीतका माध्यमबाट सुदूरपश्चिमको देउडा संस्कृति प्रवर्द्धन गर्न सक्रिय रहेको उहाँको भनाइ छ । “यहाँको लोक, देउडा संस्कृतिबारे कलाकारिताका माध्यमबाट युवा पुस्तासित नजिक गराउने काममा यहाँका सबै कलाकारको अहम् भूमिका छ”, उहाँले भन्नुभयो, “देउडा सबैतिर खेलिने र चर्चित क्रम बढ्दै छ ।”

अर्थशास्त्र विषयमा स्नातकोत्तर अध्ययनरत रोजी अध्ययनमा पनि अब्बल विद्यार्थी हुनुहुन्छ । “स्कुलमा कुनै कार्यक्रम भयो कि रोजीको खोजी भइहाल्थ्यो”, उहाँले भन्नुभयो, “कलाकारितामा अछामबाट त्यो बेला अगाडि आउनु सामाजिकरूपले पनि ठूलो चुनौती थियो ।”

आफ्नो नृत्य र अभिनयप्रतिको रुचि र बुवा–आमाको प्रेरणाले नै यो क्षेत्रमा आएको उहाँको भनाइ छ । विगत चार वर्षयता ‘स्टेज’ कार्यक्रममा समेत सहभागी हुन थालेपछि अहिले उहाँको माग मुलुकभित्रका साथै भारतका विभिन्न सहरमा समेत बढ्दै गएको छ ।

काठमाडौँको प्रसिद्धी कला समूहमा नृत्य प्रशिक्षण लिनुभएकी रोजी अहिले सोही कला केन्द्रमा बालबालिकालाई नृत्यसमेत सिकाउने गरेको बताउनुहुन्छ । “अछाममा मेला–महोत्सव हुँदा त्यो बेला केटी मान्छेलाई नृत्यमा स्थान दिँदा सामाजिकरूपले पनि टीकाटिप्पणी हुन्थे”, उहाँले भन्नुभयो, “अहिले त्यो साँघुरो सोचाइ हट्दै गयो ।”

सुदूरपश्चिमको देउडालाई पाका पुस्ताले यहाँसम्म पुर्याएको उहाँको भनाइ छ । देउडा नयाँ पुस्ता पनि त्यत्तिकै लोकप्रिय बन्दै गएको जनाउँदै उहाँले कला, संस्कृतिको संरक्षणमा राज्यबाट पनि अभिभाकत्व चाहिनेमा जोड दिनुभयो ।

“साथीहरू सानैबाट सबैले इन्जिनियर, डाक्टर भन्ने म कलाकार भन्थे”, उहाँले भन्नुभयो, “यो क्षेत्रमा अब व्यावसायिकरूपले पनि कला केन्द्र सञ्चालन गर्ने सोच बनाएकी छु ।” उहाँले ‘प्यारो अछाम’, ‘तँु गोरु लेल्लीकी’, ‘कहिले तु छाउँ हुदी’, ‘छाडी गै रानीले’ र ‘पोक पाँया मोरको’ लगायतका सुदूरपश्चिमका चर्चित देउडा गीतमा अभियन गर्नुभएको छ ।

Facebook
Twitter
LinkedIn
Pinterest
Pocket
WhatsApp

सम्बन्धित खबर

ताजा समाचार

लोकप्रिय समाचार