प्रहरी सेवालाई प्रविधिमैत्री बनाउन क्यूआर कोड

कर्णाली, ६ मङ्सिर : कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक भीमप्रसाद ढकालले क्यूआर कोड सार्वजनिक गर्नुभएको छ । मङ्गलबार वीरेन्द्रनगर, सुर्खेतमा उहाँले परम्परागत तरिकाबाट दिइने सेवालाई नागरिकको सहजता र उनीहरूको पहुँच कायम गराउन द्रुत जवाफ (क्विक रेस्पोन्स) कोड सार्वजनिक गरिएको बताउनुभयो ।

“विशेषगरी नागरिकका गुनासा, समस्या र रचनात्मक सुझाव सङ्कलन गर्न सो कोड प्रयोग गरिएको हो”, प्रहरी नायब महानिरीक्षक ढकालले भन्नुभयो, “यो कोडबाट प्राप्त उजुरी कार्यान्वयन भए/नभएको विवरण उजुरीकर्तालाई दिन्छौँ ।”

‘सुरक्षित कर्णाली विशेष अभियान’अन्तर्गत दुई लाख २७ हजार चार २४ घरमा स्टिकर टाँस, पीडित सहायता कार्यक्रम, लालटिन अभियान, अन्तक्र्रियात्मक गस्ती, यात्रुमैत्री निःशुल्क निवेदन लेखन, नागरिक सहजकर्ता परिचालन, दुव्र्यसनीविरुद्ध सचेतनामूलक कार्यक्रम सञ्चालनमा रहेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “अब यहाँका नागरिकले शान्ति सुरक्षामा भएका समस्या र कमजोरीका साथै सुदृढ सेवा प्रवाहका लागि घर वा बाटोघाटो, पाटीपौवा जहाँबाट पनि प्रविधिामार्फत उजुरी दिन सक्नेछन् । उनीहरुलाई कुनै गुनासा राख्न, उजुरी वा निवेदन दिन सम्बन्धित निकाय धाउनुपर्ने छैन ।” उजुरीकर्ताको नाम भने प्रहरीले गोप्य राख्ने उहाँको भनाइ थियो ।

त्यसैगरी क्यूआर कोडमार्फत आएका गुनासालाई अति जरुरी, जरुरी र साधारण वर्गमा राखेर त्यसको सम्बोधन गरिने प्रहरी नायब महानिरीक्षक ढकालले बताउनुभयो । अति जरुरी उजुरीलाई तत्काल, जरुरी प्रकारको भए तीन दिनभित्र र साधारण खालको भए पाँच दिनभित्र उजुरीको छानबिन गरी उजुरीकर्तालाई विवरणसहितको जानकारी दिइने बताइएको छ ।

क्यूआर कोडको प्रयोगले नागरिक सम्बन्ध नजिक बनाउन, सुरक्षाप्रतिको विश्वास बढाउन, सहज सेवा प्रदान गर्न, समयको सदुपयोग तथा नागरिकलाई सेवा लिन जाँदा दुःख पूर्णरूपले हट्ने जनाइएको छ । प्रदेश प्रहरी कार्यालयका अनुसार अन्तक्र्रियात्मक गस्तीबाट सात हजार दुई सय ६२, यात्रुमैत्री अभियानबाट दुई लाख र निःशुल्क निवेदन लेखन सहयोग कार्यक्रमबाट एक हजार पाँच सय ६५ जना लाभान्वित भएका छन् ।

Facebook
Twitter
LinkedIn
Pinterest
Pocket
WhatsApp

सम्बन्धित खबर

ताजा समाचार

लोकप्रिय समाचार