दमक, १८ चैत । झापामा रहेको होटल व्यवसायी संघ दमकले १० औं दमक फुड फेस्टिवलको आयोजना गर्ने भएको छ । २०७१ सालदेखि निरन्तर दमकमा फुड फेस्टिवल आयोजना हुदैँ आएको छ ।
यहि चैत २३ देखि बैशाख ४ गतेसम्म दमक–७ स्थित पशुहाट मैदानमा फूडफेस्टिवल सञ्चालन हुने भएको छ । होटल व्यवसायी संघ दमकले बर्षेनी आयोजना गदैआएको फूडफेस्टिव यसवर्ष १०औं श्रखृला हो ।
संघले शनिबार दमकस्थित होटल पाथिभरामा पत्रकार सम्मेलन गरि १०औं फूड फेस्टिवलका तयारी र कार्यक्रमहरुका बारेमा जानकारी गराएको छ ।
फेस्टिबलमा करिव १ लाख सर्वसाधारणले अवलोकन गर्ने तथा त्यसबाट रु १ करोड बढीको कारोवार हुने अनुमान गरिएको र फेस्टिवलको टिकट लिएर आउने सर्वसाधारणहरुलाई दमकका होटलहरुले १० देखि ३० प्रतिशतसम्म छुटको व्यवस्था समेत गरिएको संघका महासचिव समेत रहेका होटल व्यवसायी महासंघका केन्द्रिय सदस्य भुपेन्द्र न्यौपानेले बताए ।
फेस्टिवलमा स्थानीय आदिवासी राजवंशी, ताजपुरिया, धिमाल, राई, लिम्बू, गुरुङ, मगर लगायतका जनजातिका दुई दर्जनबढी खाद्य परिकारका स्टलहरु रहने पत्रकार सम्मेलनमा जानकारी गराएको छ । सो फेस्टिवलमा दैनिक स्थानीय तथा राष्ट्रिय स्तरका कलाकारहरुको सांगीतिक प्रस्तुति रहने जनाईएको छ ।
फेस्टिवल अवधिमा दमकमा आउने पर्यटकलाई लक्षित गरि स्थानीय होटल तथा लजमा आर्कषक १० देखि ३० प्रतिशत छुटको समेत व्यवस्था गरिएको कार्यक्रम संयोजक भुपेन्द्रप्रसाद न्यौपानेले जानकारी दिए ।