दमक ईसाई समाजद्धारा पाँचथरका विद्यार्थीहरुलाई न्यानो कपडा वितरण

दमक, ९ माघ : झापा दमकका ईसाई धर्मालम्बीहरुको साझा संस्था दमक नगर ईसाई समाजले पाँचथरको दुर्गम क्षेत्र याङवरक गाउँपालिकाको वडा नं २ का विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरेको छ । दमक नगर ईसाई समाजले सोमबार याङवरक–२ सेपीस्थित सूर्योदय आधारभूत विद्यालयमा एक कार्यक्रमबीच पाँच वटा विद्यालयका कक्षा–१ देखि कक्षा–५ मा अध्ययनरत १२० जना विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरेको हो ।

पाँचथर याङवरक–२ सेपी घर भई हालः झापाको दमकमा व्यवसायसंगै सामाजिक सेवामा सक्रिय रहनुभएका पाष्टर डिके बेघा लिम्बू र याङवरक–२ सेपीमा राजनीतिक तथा सामाजिक सेवामा सक्रिय रहनुभएका वडा सदस्य तेजु दुमी राईको पहलमा सो सामाग्रीहरु वितरण गरिएको दमक नगर इसाई समाजका अध्यक्ष पाष्टर आकाश थुलुङ राईले जानकारी दिनुभयो ।

दमक नगर ईसाई समाजका अध्यक्ष पाष्टर राईका अनुसार याङवरक–२ का नारायणी माध्यमिक विद्यालय, सूर्वोदय आधारभूत विद्यालय, सूर्य प्रभात आधारभूत विद्यालय, तिम्बुपोखरी वर्मे आधारभूत विद्यालय र चिङमा आधारभूत विद्यालयमा कक्षा–१ देखि ५ सम्म अध्ययनरत १२० जना विद्यार्थीहरुलाई ट्रयाकसुट (न्यानो) कपडा वितरण गरिएको हो ।

सो सामाग्री वितरणमा दमक नगर इसाई समाज र कर्नर स्टोन फाउण्डेसनको संयुक्त आयोजनामा दमकबाट याङवरकसम्म पुर्याएर त्यहाँ अध्ययनरत विद्यार्थीहरुलाई वितरण गरिएको पाष्टर राईले जानकारी दिनुभयो ।

‘बालबालिकाको स्वास्थ्य र शिक्षामा लगानी, हाम्रो समाज र राष्ट्रको सुनौलो विहानी’ भन्ने उद्घोषसहित कपडा वितरण कार्यक्रम आयोजना गरिएको हो । न्यानो कपडा वितरण कार्यक्रम संयोजक समेत रहनुभएका दमकका शैक्षिक व्याक्तित्व पाष्टर युवराज गजमेर, दमक नगर इसाई समाजका अध्यक्ष पाष्टर आकाश थुलुङ राई, पाष्टर डिके बेघा, याङवरक–२ का वडा सदस्य तेजु दुमी राईले कार्यक्रममा आ–आफ्ना बिचारहरु राख्नुभएको थियो ।

सो कार्यक्रममा सेपीस्थित सूर्योदय आधारभूत विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दिलमाया बेघा, प्रधानध्यापक प्रसाद बेघा, सामाजिक संघसंस्था, राजनीतिक पार्टीका प्रतिनिधिहरु, विभिन्न विद्यालयका शिक्षक–शिक्षिकाहरु, अभिभावकहरु र विद्यार्थीहरुको ठूलो संख्यामा उपस्थिति थियो ।

Facebook
Twitter
LinkedIn
Pinterest
Pocket
WhatsApp

सम्बन्धित खबर

ताजा समाचार

लोकप्रिय समाचार