दुग्धजन्य पदार्थ बंगलादेश निकासीका लागि मुख्यमन्त्री कार्कीले थाले पहल

विराटनगर, १९ पुस । कोशीका मुख्यमन्त्री केदार कार्कीले यस प्रदेशमा उत्पादित दुग्धजन्य पदार्थ बंगलादेश निकासीका लागि पहल थालेका छन् ।

बंगलादेशका लागि नेपाली राजदुत घनश्याम भण्डारीसँग  फोन संवाद गरी मुख्यमन्त्री कार्कीले यस प्रदेशमा उत्पादित दुग्धजन्य पदार्थ निकासीका लागि सहजीकरण गरिदिन आग्रह गरेका हुन् ।

नेपालबाट बंगलादेशमा दुग्धजन्य पदार्थको निकासीमा ७८ प्रतिशत भन्सार तोकिएकाले कोशी प्रदेशका दुग्धजन्य पदार्थ उत्पादकले निर्यात गर्न नसकेको गुनासो स्थानियले गर्दै आएका छन ।

दुग्धजन्य पदार्थ निकासी नहुँदा प्रदेशमा ‘मिल्क होली डे’को अवस्था सिर्जना हुनुका साथै नेपालमा उत्पादित घ्यू, नौनी कुहिने अवस्थामा पुगेको छ । प्रदेशमा उत्पादित दुग्धजन्य पदार्थ बिक्री नहुँदा दुध डेरी सञ्चालकहरुले पछिल्लो समय किसानसँग दुध किन्न छोड्नुका साथै किसानलाई एक वर्षदेखि दुधको भूक्तानी दिन सकेका छैनन् । किसानले दुधको भुक्तानी नपाउँदा बिच्चलीमा परेका छन् ।

विराटनगर दुग्ध वितरण आयोजनाले उत्पादन गरेको दुग्धजन्य पदार्थ बिक्री नहुँदा किसानको २५ करोड रुपैयाँ भुक्तानी गर्न नसकेको आयोजना प्रमुख परमेश्वर चौधरीले गुनासो पोखे । उनले एकातिर किसानले दुध उत्पादन बढाएका छन् भने अर्कोतिर उत्पादित दुग्धजन्य पदार्थ बिक्री नहुँदा किसानहरुलाई गत जेठ महिनादेखि नै दुधको भुक्तानी दिन नसकेको सुनाए ।

मुख्यमन्त्री कार्कीले बंगलादेशका लागि नेपाली राजदुत भण्डारीलाई दुग्धजन्य पदार्थमा बंगलादेश सरकारले लगाएको चर्को भन्सार घटाउन र दुग्धजन्य पदार्थ निकासीका लागि पहल गरिदिन आग्रह गरेका हुन् ।

फोन संवादमा राजदुत भण्डारीले बंगलादेशको ‘कमर्शियल कमिटी’मा निर्णय गराएर दुग्धजन्य पदार्थको भन्सार दर घटाउन पहल गर्ने आश्वासन दिएको मुख्यमन्त्री कार्कीले बताएका छन् ।  मुख्यमन्त्री कार्कीले दुग्धजन्य पदार्थ उत्पादकसहितको टोली बंगलादेश गएर भए पनि दुग्धजन्य पदार्थ निकासी गरेर किसानको समस्या समाधान गर्ने प्रतिबद्धता जनाएका हुन्

Facebook
Twitter
LinkedIn
Pinterest
Pocket
WhatsApp

सम्बन्धित खबर

ताजा समाचार

लोकप्रिय समाचार