धरमपुरमा मुन्धुमवेता तथा दर्शनशास्त्री इमानसिह चेम्जोङको शालिक अनावरण

धरमपुर – झापाको धरमपुर चौकमा किरात मुन्धुमवेता तथा किरात दर्शनशास्त्री स्व.इमानसिह चेम्जोङको शालिक अनावरण गरिएको छ । शिबसताक्षी–१ धरमपुर चौकमा १५ लाख ६० हजार ९ सय ६६ रुपैयाँको लागतमा पत्थरले निर्मित १३ फूट अग्लो अर्धकदको शालिक निर्माण भएको हो ।

इतिहासविद् स्व. चेम्जोङको १२१औं जन्म जयन्तीको अवसरमा नगर प्रमुख मेघाहाङ थोप्राले एक भव्य कार्यक्रमकाबीच उक्त शालिक अनावरण गरेका हुन् । अनावरणका क्रममा नगरप्रमुख थोप्राले इतिहासकार चेम्जोङले आफ्नो समुदाय तथा राष्ट्रलाई पुर्याएको योगदान लगायतका विषयमा चर्चा गरेका थिए ।

शालिक र शालिक निर्माण स्थलको संरचनामा १५ लाख ६० हजार ९ सय ६६ रुपैयाँ खर्च भएको निर्माण समितिका संयोजक देउबहादुर चेम्जोङले जानकारी दिए । शालिक निर्माण लागि समितिले विभिन्न सहयोगी दाताहरुबाट २१ लाख ५२ हजार २ सय ५६ रुपैयाँँ संकलन गरेको थियो ।

शिवसताक्षी नगरपालिकाले बिजुलीबत्ती जडानका लागि ४० हजार सहयोग गरेको निर्माण समितिका संयोजक चेम्जोङले बताए । शालिक निर्माणका लागि खर्च भएर ६ लाख ३१ हजार २ सय ९० रुपैयाँ बचत रहेको संयोजक चेम्जोङले बताए ।

शालिक निर्माणका लागि प्राप्त रकमका आधारमा सहयोगी दाताहरूको शिला लेखन र दाताहरूलाई सम्मान पत्र र दोसल्लाले सम्मानित समेत गरिएको शालिक निर्माण समितिले जनाएको छ । दाताहरूबाट प्राप्त रकमको नामावली सहित खर्चको सम्पूर्ण विवरण समेटेर पुस्तिका नै प्रकाशन गरिएको संयोजक चेम्जोङले बताए ।

कार्यक्रमा चेमुन्धुमवेता तथा किरातदर्शनशास्त्री म्जोङको व्यक्तित्व र कृतित्वको विषयमा चर्चा परिचर्चासमेत गरिएको थियोे । इमानसिंह चेम्जोङ किराँत भाषाका विशेषज्ञ र किराँत इतिहासकारका धरोहर हुन् । इतिहासकार चेम्जोङको जन्मजयन्तीको अवसरमा पूर्वी पहाडी जिल्ला पाँचथरसँगै ताप्लेजुङ, इलाम, तेह्रथुम, धनकुटा, झापा साथै उपत्यकाका विभिन्न ठाउँमा विविध कार्यक्रमको आयोजना गरी मनाइन्छ ।

हाल पठन–पाठनमा आएको किराँत भाषा र लिपिको विकास एवम विस्तारमा उहाँको अतुलनीय योगदान रहेको पाइन्छ । उहाँको तस्बिर चित्राङ्कित हुलाक टिकट प्रकाशन गरी सरकारले राष्ट्रिय प्रतिभाका रूपमा मान्यतासमेत दिएको छ ।

किराँत इतिहासकार तथा किराँत सिरिजङ्घा लीपि र भाषा–साहित्यका प्रचारक इमानसिंको जन्म बाबु मेघवरसिं र आमा दावापुहाङमाको छैटौँ सन्तानको रुपमा १ जनवरी सन् १९०४ मा दार्जिलिङको कालेम्पुङमा भएको थियो भने निधन ७१ वर्षको उमेरमा २०३३ साल असोज २२ गते भएको थियो ।

Facebook
Twitter
LinkedIn
Pinterest
Pocket
WhatsApp

सम्बन्धित खबर

ताजा समाचार

लोकप्रिय समाचार