दमक, ६ पुस – किरात याक्थुङ चुम्लुङ दमक र कमल शाखाले संयुक्त रुपमा यहि पुस १० गते वृहत रुपमा चासोक तङनाम (न्वागी पूजा) मनाउने भएको छ । चुम्लुङ दमक र कमल शाखाले आज दमकमा पत्रकार सम्मेलन गरि चासोक तङनाम (न्वागी पूजा) को तयारीका बारेमा जानकारी दिएको हो ।
चासोक कार्यक्रम कमल-५, सावित्रा चौकस्थित आदिवासी रंगशालामा हुने छ । चुम्लुङ दमक नगर शाखा अध्यक्ष देवेन्द्र चेम्जोङले विगत बर्षझै यसवर्ष पनि लिम्बू समुदायले महान चाडका रुपमा मनाउदै आएको चासोक तङनामलाई निरन्तरता दिन यसवर्ष वृहत कार्यक्रम गरिएको बताए । उनका अनुसार चुम्लुङकी केन्द्रीय उपाध्यक्ष निरन्ती तुम्बापोको प्रमुख आतिथ्यता रहने चासोक तङनाममा विधिपूर्वक पूजाआजा गर्नुका साथैं स्थानीय तथा राष्ट्रिय कलाकारहरुको समेत सांगीतिक प्रस्तुति रहने छ ।
कार्यक्रममा लिम्बू समुदायबाट उदीयमान कलाकारका रुपमा चिनिएका रुक्सना लिम्बू, दिपा सुहाङ, कञ्चन थलङ, दिलीप माखिम, राजन पन्धाक, सुनिता मिभक, निमा तामाङ, हिमाल लिम्बूसहित स्थानीय कलाकारहरुको वेजोड प्रस्तुति रहने छ ।
त्यस्तै, भाषा,संस्कृतिविद श्रीजंघासिंह थेवेको ३१९ औं जन्मजयन्ती मनाउनुका साथै लिम्बू समुदायको सांस्कृतिक नृत्य केलाङ,धान नाचसमेत प्रस्तुत गरिने उनले बताएका छन् । कार्यक्रममा चुम्लुङका झापा जिल्ला अध्यक्ष शेसेहाङ फियाकले जिल्लाभरि विभिन्न कार्यक्रम गरि चासोक तङनाम भव्य रुपले मनाउने तयारी भईरहेको जानकारी दिए ।