कोशी अस्पतालमा कैदीको मृत्यु

विराटनगरको कोशी अस्पतालमा उपचाररत एक जना कैदीको आइतबार मृत्यु भएको छ। जिल्ला कारागार मोरङमा कैद सजाय भुक्तान गरिरहेका विराटनगर महानगरपालिका–८ घर भएका ५५ वर्षीय महानन्द राय अमातको मृत्यु भएको कारागारका जेलर चेतराज बरालले बताए।

 

उनका अनुसार दुवै खुट्टामा घाउ आएर पाकेपछि अमातलाई उपचारका लागि कात्तिक २१ गते साँझ अस्पतालमा लगिएको थियो। ११ दिनदेखि उपचाररत उनलाई मधुमेह, उच्च रक्तचाप र मिर्गौला सम्बन्धी पुरानै समस्या रहेको जानकारी बरालले दिए।

 

उनका अनुसार अस्पतालको आईसीयूमा राखेर उपचार गराइरहेका अमातको बिहानका राति ३ बजेतिर मृत्यु भएको हो। भाडा लिएर बसेको घर खाली गर्न नमानेको र भाडा नतिरेको भन्दै अमातविरुद्ध घरधनीले मुद्दा हालेका थिए। ‘घर भाडा दिलाइ घर खाली गराइ पाउँ’भन्ने शीर्षकको मुद्दामा जिल्ला अदालत मोरङले उनलाई गत असोज १३ गते दोषी ठहर गर्दै २ वर्ष कैद सजाय हुने फैसला गरेको थियो।

 

भाडाबापत उनले घरधनीलाई ९ लाख रूपैयाँ तिर्न बाँकी रहेको ठहर अदालतले गरेको छ। जेलर बरालका अनुसार अदालतको फैसलापछि कैद सजाय भुक्तान गरिरहेका अमातको उपचाररत अवस्थामै मृत्यु भएको हो। शवलाई परिवारका सदस्यले दाहसंस्कारका लागि लिएर गइसकेको उनले बताए।

 

मोरङ कारागारमा अहिले ९९ महिला र ५ जना नाबालकसहित १ हजार ९६ जना कैदीबन्दी छन्। कारागारभित्र क्षमताभन्दा अत्यधिक धेरै राखिँदा कैदीबन्दीलाई समस्या हुने गरेको छ। खान, बस्न र सुत्नसमेत ठाउँको अभाव हुँदा उनीहरुको दैनिकी निक्कै कष्टकर बनिरहेको छ।

 

जिल्ला कारागार मोरङ।

Facebook
Twitter
LinkedIn
Pinterest
Pocket
WhatsApp

सम्बन्धित खबर

ताजा समाचार

लोकप्रिय समाचार