अपराध अनुसन्धनमा सहयोगी बन्दै राजमार्गका सिसिटिभी

कञ्चनपुर, १६ पुस : शुक्लाफाँटा नगरपालिका– १० झलारी बजारमा केही महिनाअघि रातको समयमा चोरले पसलको ताला फोडेर मदिरा चोरी गरे । चोरले मदिरा लग्दै गरेको दृश्य सिसिटिभीमा कैद भयो । सोही आधारमा प्रहरीले चोरलाई समात्न सक्यो ।

झलारी बजारकै व्यापारी कमला ऐरको पसलअघि राखिएको एक साइकल चोरी भयो । सिसिटिभीमा साइकल चोरी गरेर लग्दै गरेका व्यक्तिको तस्विर देखियो । प्रहरीले सोही तस्विरका आधारमा व्यक्तिको खोजी गर्दा साइकलसमेत भेटियो ।

इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक ईश्वर थापा सिसिटिभी क्यामेरा पूर्वपश्चिम राजमार्गमा जडान गरिँदा अपराध अनुसन्धानमा सजिलो भएको बताउनुहुन्छ । “सडक क्षेत्रमा सिसिटिभी क्यामेरा जडान हुँदा यात्राका क्रममा सवारीसाधनमा छुटेका, हराएका सामान बहुमूल्य गरगहना खोजी गर्न सकिएको छ”, उहाँले भन्नुभयो, “त्यस्ता सामान खोजी गरी सम्बन्धित व्यक्तिलाई बुझाउन सिसिटिभी क्यामेरा सहयोगी बनेको छ ।”

सवारी दुर्घटना, विभिन्न आपराधिक घटनामा संलग्नको पहिचान गरी अनुसन्धानमा सहजता भएको उहाँको भनाइ छ । सडक क्षेत्रका मुख्य बजार क्षेत्रमा हुने ट्राफिकसम्बन्धी समस्या कार्यालयमा राखिएको मोनिटरमा हेरेर नियन्त्रणका लागि प्रहरी परिचालन गरी नियन्त्रणसमेत हँुदै आएको उहाँले सुनाउनुभयो ।

राजमार्ग क्षेत्रको शुक्लाफाँटाबाट कृष्णपुर नगरपालिका क्षेत्रसम्म ६२ वटा सिसिटिभी क्यामेरा जडान गरिएका छन् । जसमध्ये सुदूरपश्चिम प्रदेश सरकारको सहयोगमा २२, शुक्लाफाँँटा नगरपालिकाको सहयोगमा १२ र कृष्णपुर नगरपालिकाको सहयोगमा २९ वटा क्यामेरा जडान गरिएका छन् । राजमार्गका मुख्य बजार क्षेत्रका व्यापारी र घरधनीलेसमेत आफ्नै लगानीमा सिसिटिभी क्यामेरा जडान गर्न थालेका छन् ।

सुदूरपश्चिम प्रदेश सरकारले तीन वर्षअघि जडान गरेका सिसिटिभीमध्ये केही बिग्रिएकाले मर्मत गर्नुपर्ने शुक्लाफाँटा उद्योग वाणिज्य सङ्घका अध्यक्ष धीरेन्द्र साउदले बताउनुभयो । “बिग्रिएका सिसिटिभी क्यामेरा तत्काल मर्मत गरी सञ्चालनमा ल्याउनुपर्छ”, उहाँले भन्नुभयो, “थप सिसिटिभी क्यामेरा जडानका लागि स्थानीय तहले काम अघि बढाउनुपर्छ ।” सिसिटिभी क्यामेराले गर्दा आपराधिक क्रियाकलाप नियन्त्रण आएको उहाँको बुझाइ छ ।

शुक्लाफाँटा नगरप्रमुख रणबहादुर महराले आवश्यकता भएका नगरपालिकाको क्षेत्रभित्र पर्ने पूर्वपश्चिम राजमार्ग क्षेत्र र राजमार्गसँगै जोडिएका मुख्य बजार क्षेत्रमा थप सिसिटिभी क्यामेरा जडान गरिने बताउनुहुन्छ । नगरपालिकाबाट राजमार्ग छेउछाउ, वडा कार्यालयले आपराधिक क्रियाकलाप हुने क्षेत्रसँगै जङ्गली जनावरको ओहोरदोहोर हुने क्षेत्रमा समेत नाइटभिजन सिसिटिभी जडान गरेको उहाँको भनाइ छ ।

सुदूरपश्चिम प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले आर्थिक वर्ष २०७७/७८ मा रु एक करोड ७१ लाखमा पूर्वपश्चिम राजमार्गको कैलाली कञ्चनपुरमा एक सय ३८ वटा सिसिटिभी जडान गरेको थियो । राजमार्गको कैलाली खण्डमा ९२ र कञ्चनपुरमा ४२ स्थानमा सिसिटिभी जडान गरेको छ । सिसिटिभी क्यामेराको निगरानी गर्न राजमार्ग क्षेत्रका इलाका प्रहरी कार्यालयमा स्टेशन बनाइएको छ ।

Facebook
Twitter
LinkedIn
Pinterest
Pocket
WhatsApp

सम्बन्धित खबर

ताजा समाचार

लोकप्रिय समाचार