लखनपुर – दक्ष जनशक्तिको अभाव र सरकारले बजेटलाई प्राथमिकता साथ वितरण हुन नसक्दा झापाको कमल–६ लखनपुरस्थित प्रादेशिक आयुर्वेद अस्पताल सञ्चालनमा समस्या उत्पन्न भएको छ । २०७९ भाद्र १६ गते सञ्चालनमा आएको प्रादेशिक आयुर्वेद अस्पतालको भवन पर्याप्त भएपनि जनशक्तिको अभावसंगै आर्थिक व्यवस्थापनमा समस्याको कारण सेवाग्राहीलाई गुणस्तरीय सेवा दिन नसकिएको बताउनुभएको छ ।
शुक्रबार अस्पतालमै पत्रकार सम्मेलनको आयोजना गरेर प्रार्देशिक अस्पतालले दिइरहेको सेवा, प्रभावकारिता, उपचारका पद्धती, विधी, निःशुल्क–सशूल्क औषधी वितरण, उपकरण (प्रविधि), आगामी योजना, कार्यक्रमहरुको विषयमा जानकारी गराएको छ । अस्पतालका निमित्त निर्देशक डाक्टर सिद्धार्थ ठाकुरले २०७२ मा प्रारम्भिक कार्ययोजना निर्माण भएको, २०७५ सालमा भवन शिलन्यास भएपछि २०७५ भदौं १५ गते अस्पतालको उद्घाटन भएको बताए ।
प्रादेशिक आयुर्वेद अस्पताललाई सञ्चालनमा सघाउ पुर्र्याउने उदेश्यले यहि मंसिर २५ र २६ निःशुल्क विशेषज्ञ स्वास्थ्य शिविरको आयोजना गरिएको समेत निमित्त निर्देशक डाक्टर ठाकुरले पत्रकार सम्मेलनमा जानकारी दिए । सो शिविरमा सेवाग्राहीहरुको स्वास्थ्य परीक्षणसहित सवै किसिमको सेवा निशुल्क हुने निमित्त निर्देशक डा.ठाकुरले बताए ।
डा.ठाकुरका अनुसार स्थापनापछि पहिलोपटक हुन लागेको शिविरमा स्वास्थ्य परीक्षण, प्रयोगशाला, पञ्चकर्म, अल्टासाउण्ड, अन्तरंग सेवा, इसीजी, फिजियोथेरापी, छारसुत्र सेवा तथा औषधी समेत निशुल्क उपलव्ध हुने छन् ।
अस्पतालले दैनिक ओपीडि सेवा पुरयाँउदै आएको छ । अव यसलाई स्तरवृद्धि गरि चाडै नै २४ सै घण्टा सेवा विस्तार गर्न पहल भईरहेको डाक्टर ठाकुरले बताएका छन् ।
५० शैयाको प्रार्देशिक आयुर्वेद अस्पतालमा ५० शैया छ भने हाल दैनिक ५० देखि ८० जनासम्म सेवाग्राहीहरु आइपुग्ने गरेका छन् । संघीय सरकारको करिव २५ करोडको लागतमा निर्माण भएको सुविधासम्पन्न पूर्वाधार भएपनि जनशक्ति अभावका कारण नियमित सेवा पुरयाउँन कठिनाई भईरहेको डा.ठाकुरको भनाई छ ।
पत्रकार सम्मेलनमा अस्पतालका प्रशासन प्रमुख अभिकेशर सिग्देल, आयुर्वेद निरीक्षक बेदप्रसाद शर्मा, कविराज दिपेश राजवंशी, लेखा सहायक तीर्थराज पौडेल लगायत कर्मचारीहरुको उपस्थिति थियो ।















