तुलसीपुर,२१ असोज : दाङको तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा मेडिकल अधिकृतका लागि दुई पटक विज्ञापन गर्दा पनि कुनै आवेदन परेन । करारमा मेडिकल अधिकृत नियुक्ति गर्नका लागि आबेदन आह्वान गर्दा पनि कुनै आवेदन नपरेको अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. पदमराज अधिकारीले बताउनुभयो ।
चार जनाको लागि विज्ञापन गर्दा पनि आवेदन नपर्दा अहिले विद्यमान सीमित चिकित्सकले सेवा दिनुपरेको उहाँको भनाइ थियो।
पचास शै्याको उक्त अस्पतालमा एकसय ५० जनाका लागि सेवा सञ्चालन हुँदै आएकामा अब दुई सय शैया बनाउनका लागि प्रदेश सरकारले कसरत थालेको छ । डायोलाइसिस तथा प्रसुतिलगायत सेवामा अझै पनि जनशक्ति अभाव छ । जनशक्ति अभावकै कारण आईसियु सेवा सञ्चालन गर्न सकिएको छैन । आईसियुका लागि करिब थप १० बेड चाहिन्छ ।
यसैगरी छ मेडिकल अधिकृत, १९ नर्सिङ, छ कार्यालय सहयोगी पनि चाहिने निमित्त मेसु अधिकारीले बताउनुभयो । उपकरण भएपनि जनशक्ति अभाबकै कारण उक्त सेवा सञ्चालन गर्न नसकिएको उहाँको गुनासो थियोे ।दैनिक एक सय बिरामीलाई धान्न सक्ने मात्रै जनशिक्ति हुँदा पनि दैनिक छ सय विरामी आउने गरेका उक्त अस्पतालमा हाल कन्सलटेन्ट १४, मेडिकल अफिसर २५, स्टाफ नर्स ६८ जना कार्यरत छन् । प्रदेशअन्तर्गत रहेकाले यो अस्पताललाई आगामी मन्त्रीपरिषद्को बैठकबाट दुईसय शै्यामा पु¥याउन प्रयास भइरहेको प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले बताउनुभयो ।












