‘चलचित्रमार्फत आम मानिसको कथा देखाउने गरेको छु’

काठमाडौँ, १८ असोज : नेपाली चलचित्रको कथ्य शैली, पात्रको स्वरूप, निर्माण शैलीलगायतमा परिवर्तन ल्याउने चलचित्र ‘लूट’ मार्फत निर्देशनमा उदाउनुभएको थियो– निश्चल बस्नेत ।

निर्देशकसँगै अभिनेता, गायकलगायतका विविध विधामा आफ्नो कौशलता देखाउनुभएका बस्नेतले नयाँ चलचित्र ‘दिमाग खराब’ तयार गर्नुभएको छ । कुनै समय पर्दा पछाडी रहेर काम गर्ने निर्देशक भए पनि पर्दा अगाडिका अभिनेताभन्दा बढी लोकप्रियता हासिल गर्नुभएका बस्नेतले निकै कम चलचित्र निर्देशन गर्नुभएको छ ।

आफूमा दर्शकले गर्ने विश्वासले पनि विषयवस्तु चयनमा समय लाग्ने गरेको उहाँले बताउनुभयो । “म आम मानिसकै कथा भन्न रुचाउँछु । त्यसैले गर्दा केही ढिलाइ भयो होला, तर त्यो तयारीको समय थियो”, निर्देशक बस्नेतले भन्नुभयो, “मेरो कोसिस रमाइलोसँगै राम्रो चलचित्र बनाउने हुन्छ । यसपटक पनि त्यहीँ प्रयास छ ।

” उहाँले चलचित्रमा एउटा साधारण मान्छेको जीवनशैली, दायित्व र उतारचढावलाई देखाइएको बताउनुभयो । “देशको परिस्थितिले एउटा सरल जीवन चाहने आम मानिसको दिमाग खराब गरिरहेको सन्दर्भ चलचित्रमा छ । यद्यपि हो राजनीतिक नभई सामाजिक विषयमा तयार गरिएको चलचित्र हो”,

निर्देशक बस्नेतले भन्नुभयो । चलचित्रमा दयाहाङ राई, स्वस्तिमा खड्का, खगेन्द्र लामिछाने, अर्पण थापा, सुमन कार्की, विजय बराललगायतका कलाकारले अभिनय गर्नुभएको छ । निर्देशक बस्नेतको श्रीमतीसमेत रहनुभएकी अभिनेत्री खड्काले चलचित्रमा काम गरेसँगै एउटा प्रश्नको अन्त्य भएको बताउनुभयो । उहाँले भन्नुभयो, “मलाई जहिले निर्देशक बस्नेत (श्रीमान्)को चलचित्रमा कहिले काम गर्ने ? उहाँले लिनु हुँदैन ? भनेर सोधिने प्रश्नको अन्त्य भएको छ ।

यसपटक आफ्नै श्रीमान् निर्देशक हुँदा केही भिन्न महसुस गरेता पनि मैले निर्देशकले भनेअनुरुप नै काम गरेकी छु, यो एउटा कलाकारको दायित्व पनि हो ।” अभिनेत्री खड्काले चलचित्रले उठान गरेको विषयले मनोरञ्जनका साथै सन्देश पनि दिने बताउनुभयो ।

अभिनेता लामिछानेले आम मानिस भएर पर्दामा देखिन रूचि रहेको बताउनुभयो । “मैले चाहेको जस्तो पात्र पाएको छु । मैले पनि अभिनेत्री खड्काजस्तै लेखक र निर्देशकलाई साइड लगाएर पूर्णरूपमा अभिनेता भएर निर्देशककै अनुसार आफ्नो पात्रलाई तयार गरेको हुँ । यो एउटा साधारण व्यक्तिको जीवनशैलीसँग जोडिएको चलचित्र हो ।” कात्तिक २४ मा प्रदर्शन तय गरिएको चलचित्रमा आकाश बरालले लेखन, सुशन प्रजापतिले छायाङ्कन, निमेष श्रेष्ठले सम्पादन, जयन के वाइबा र बाबुल गिरीले सङ्गीत, राजकुमार उप्रेतीले द्वन्द्व निर्देशन तथा रोहित शाक्यले पाश्र्व सङ्गीत सिर्जना गर्नुभएको छ । –––

Facebook
Twitter
LinkedIn
Pinterest
Pocket
WhatsApp

सम्बन्धित खबर

ताजा समाचार

लोकप्रिय समाचार