तनहुँको म्याग्देमा ‘ल्याण्डफिल साइट’ निर्माण

रासस: तनहुँ, १८ असोज : जिल्लाको म्याग्दे गाउँपालिका–२ स्थित बहपुरमा व्यवस्थित ‘ल्याण्डफिल साइट’ निर्माण गरिएको छ ।

सङ्घीय सरकारको रु दुई करोड लगानीमा करिब २४ रोपनी जग्गा खरिद गरी ‘साइट’ निर्माण गरिएको हो। बहुवर्षीय योजनाअन्तर्गत पहिलो वर्ष रु एक करोड ४० लाखको लागतमा ‘साइट’को निर्माण भइरहेको इञ्जिनीयर शिव ज्ञावलीले जानकारी दिनुभयो । “यस आवदेखि सञ्चालनमा ल्याउने गरी निर्माण कार्य भइरहेको छ,” उहाँले भन्नुभयो, “जग्गा व्यवस्थापन, मार्ग निर्माण र ट्रस निर्माणलगायत कार्य तीव्र गतिमा भइरहेको छ ।”

उक्त स्थानमा ल्यान्डफिल साइट सञ्चालनमा ल्याएपछि छिमेकी पालिका शुक्लागण्डकी र व्यास नगरपालिकाको फोहरमैलालाई व्यवस्थित गर्न सकिनेछ । कुहिने फोहरलाई प्राङ्गारिक मल बनाउने र नकुहिने वस्तुलाई पुनःप्रयोगमा ल्याउने गरी व्यवस्थित गर्न लागिएको हो ।

अन्य पालिकासँग सम्झौता गरी शुल्क लिएर फोहरमैला व्यवस्था गर्न सकिने गाउँपालिकाका उपप्रमुख बालकृष्ण घिमिरेले जानकारी दिनुभयो । उक्त स्थानमा उत्पादन गरेको प्राङ्गारिक मल प्रयोग गरी सोही स्थानमा सुन्तला खेती गर्ने योजना रहेको उहाँले बताउनुभयो । एकीकृत आवास कार्यक्रम त्यसैगरी गाउँपालिकाले आर्थिक विपन्न वर्गलाई एकीकृत आवास कार्यक्रमअन्तर्गत घर निर्माण गरिदिने भएको छ ।

एउटै प्रकृतिका घर निर्माणका लागि रु एक करोड बजेट विनियोजन भइसकेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत जीतबहादुर रानाले जानकारी दिनुभयो । उक्त कार्यक्रमका लागि कार्यविधि अन्तिम चरणमा पुगेकाले पारित हुने वित्तिकै प्रक्रियाअघि बढाइने उहाँले बताउनुभयो । वडाबाट सिफारिस भएर आएका निवेदन गाउँपालिका कार्यपालिकाको बैठकले निर्णय गरेपछि यसै आर्थिक वर्षमा सम्पन्न गर्ने लक्ष्य राखिएको उहाँले बताउनुभयो ।

Facebook
Twitter
LinkedIn
Pinterest
Pocket
WhatsApp

सम्बन्धित खबर

ताजा समाचार

लोकप्रिय समाचार