नस्लवाद, जातिवाद, र धर्मवाद—यी तीनै विचारधाराहरू समाजमा व्याप्त रहेका अफिमजस्तै हुन्। यी विचारधाराहरू मानिसलाई यथार्थबाट टाढा राख्ने, सामाजिक चेतनालाई कुण्ठित गर्ने, र शक्तिशाली शासकहरूलाई आफ्नो प्रभुत्व जोगाइराख्न सहायता गर्ने साधन मात्र हुन्। कार्ल माक्र्सले धर्मलाई “जनताको अफिम” भनेझैँ, नस्लवाद, जातिवाद, र धर्मवाद पनि सामाजिक संरचनालाई गलत तरिकाले बलियो बनाउने नशालु तत्वहरू हुन्, जसले उत्पीडित वर्गलाई सत्ताधारीहरूको दास बनाइराख्छ।
सबैभन्दा पहिले, नस्लवादलाई बुझ्ने हो भने, यो एक त्यस्तो सोच हो जसले कुनै एक जाति वा वर्णलाई अरूभन्दा उच्च र विशेष योग्यतासम्पन्न ठान्छ। इतिहासमा गोरा जातिले आफूलाई सर्वश्रेष्ठ मान्दै अफ्रिकीहरूलाई दास बनाएको, अमेरिकी स्वदेशीहरूलाई नरसंहार गरेको, र उपनिवेशकालमा एशियाली तथा अफ्रिकी राष्ट्रहरूलाई गुलामीमा राखेको तथ्य स्पष्ट देख्न सकिन्छ। नस्लवाद केवल इतिहासमा सीमित छैन; आज पनि विकसित भनिने देशहरूमा अश्वेतहरू, आप्रवासीहरू, र अन्य अल्पसंख्यकहरू विभेदको सिकार भइरहेका छन्। नस्लवाद एक नशा हो, जसले समाजमा कृत्रिम रूपमा एक उच्च वर्ग निर्माण गर्छ र बाँकीलाई शोषण गर्न मद्दत गर्छ। मानिसहरूलाई यथार्थ बुझ्न नदिई उनीहरूलाई आफैंभित्रका कृत्रिम पहिचानमा अल्झाइराख्ने काम गर्छ।
त्यसैगरी, जातिवाद पनि त्यस्तै खतरनाक अफिम हो। नेपाल, भारतजस्ता देशहरूमा जातीय संरचना यति गहिरोसँग गाडिएको छ कि यसले समाजलाई टुक्राटुक्रा पारेर राखेको छ। नेपालको सन्दर्भमा, जातीय विभाजनले समग्र समाजलाई जकडेर राखेको छ। उच्च जातिहरूले सदियौँदेखि सत्ता, सम्पत्ति, र ज्ञानमा कब्जा जमाउँदै आएका छन्, जबकि तल्लो जातिका भनिनेहरूलाई शिक्षा, स्वास्थ्य, र रोजगारीमा समेत पछाडि पारिएको छ। जातिवाद केवल विभेद मात्र होइन, यो एक सुनियोजित विचारधारा हो, जसले शोषित वर्गलाई मानसिक रूपमा कमजोर बनाउँछ, तिनीहरूलाई जन्मजात रूपमा नै निम्छरो बनाइएको छ भन्ने भ्रममा राख्छ।
जातिवादले शोषकहरूलाई नै लाभ पुर्याउँछ। किनकि, जब उत्पीडित वर्गले आफ्नो दयनीय अवस्था जातिसँग जोडेपछि, उनीहरूले वर्गसंघर्ष गर्ने साहस गर्दैनन्। बरु, तल्लो जातिका मानिसहरू उच्च जातिका सामु आफूलाई सधैँ लाचार देख्न बाध्य हुन्छन्। माक्र्सवादी सिद्धान्तअनुसार, जातिवाद वर्गसंघर्षलाई रोक्ने एउटा ठूलो अवरोध हो। जातीय पहिचानको भ्रममा पारेर शासक वर्गले मजदुर, किसान, र सर्वसाधारणलाई एकताबद्ध हुनबाट रोक्छ, जसले अन्ततः शोषणकारी व्यवस्था टिकाइराख्न सहयोग गर्छ।
धर्मवाद पनि त्यही किसिमको अफिम हो। धर्मले समाजलाई आध्यात्मिक रुपमा अन्धकारमा राख्ने, मानिसलाई कर्मकाण्डमा व्यस्त पार्ने, र यथार्थ जीवनमा आउने समस्याहरूलाई भाग्य वा ईश्वरको इच्छा भनेर स्विकार गर्न बाध्य बनाउने गर्छ। माक्र्सले भनेझैँ, धर्मजन्य विश्वासहरूले उत्पीडित वर्गलाई राहत दिने भ्रम दिन्छ, तर वास्तवमा उनीहरूलाई परिवर्तनको आवश्यकता महसुस गर्नै दिँदैन। उदाहरणका लागि, भारतमा जातिवाद र धर्म एकअर्कासँग जोडिएर आएका छन्। ब्राह्मणवादी धर्मसंस्थाहरूले जातीय विभाजनलाई नै धर्मको रूपमा स्थापित गरे। नेपालमा पनि राणा शासनदेखि पञ्चायतसम्म हिन्दू धर्मलाई राज्यको धर्म बनाएर शासकहरूले आम जनतालाई अन्धविश्वासमा राख्ने प्रयास गरे।
धर्मवादले शासकहरूलाई फाइदा पुर्याउँछ, किनभने जब जनताले आफ्नो दुःख-पीडा भगवानको इच्छा मान्छन्, उनीहरू विद्रोह गर्दैनन्। जब गरीबले आफ्नो गरिबीलाई कर्मको फल ठान्छ, उसले अन्यायको विरोध गर्दैन। जब महिला वा दलितहरूले आफ्नो दमनलाई नै धर्मसंग जोडेर बुझ्छन्, तब तिनीहरू परिवर्तनको पक्षमा सोच्न सक्दैनन्। यही कारणले गर्दा धर्म शोषणको एउटा महत्त्वपूर्ण अस्त्र बनेको छ।
नस्लवाद, जातिवाद, र धर्मवाद एउटै स्रोतका फरक-फरक रूपहरू मात्र हुन्। यी सबैले शोषक वर्गलाई आफ्नो सत्ता जोगाइराख्न मद्दत गर्छन्, जबकि उत्पीडित वर्गलाई झन् कमजोर बनाउँछन्। इतिहासमा हेर्ने हो भने, जब-जब मानिसहरूले यी अफिमहरूबाट मुक्त हुन खोजे, तब-तब शोषक वर्गले उनीहरूमाथि दमन गर्यो। फ्रेन्च क्रान्ति, रुसी क्रान्ति, वा चिनियाँ क्रान्ति सबैले जातीय, धार्मिक, र नस्लीय विभाजनलाई अस्वीकार गर्दै श्रमिक तथा किसानहरूको एकतामा जोड दिएका थिए।
नेपालकै परिप्रेक्ष्यमा, २०६२/६३ को जनआन्दोलन, त्यसअघि भएको माओवादी जनयुद्ध, वा मधेश आन्दोलनहरू जातीय र वर्गीय समानताका लागि भएका संघर्षहरू हुन्। तर, नेपालमा अझै पनि जातिवाद र धर्मवाद संस्थागत रूपमा कायम छ। दलित समुदायहरू अझै पनि भेदभावको सिकार छन्, मधेसी समुदायहरू दोस्रो दर्जाका नागरिकझैँ व्यवहार गरिन्छन्, र धर्मलाई अझै पनि शासकहरूले आफ्नो स्वार्थका लागि प्रयोग गर्छन्।
यसकारण, जबसम्म मानिसहरूले यी अफिमहरूबाट छुटकारा पाउँदैनन्, तबसम्म वास्तविक मुक्तिको सम्भावना छैन। समाजवादी तथा वैज्ञानिक चेतनाले मात्र मानिसहरूलाई यथार्थ बुझ्न मद्दत गर्न सक्छ। जात, नस्ल, वा धर्मको भ्रममा परेर होइन, वर्गीय सचेतनाका आधारमा मात्र समानता र न्यायको कुरा गर्न सकिन्छ। माक्र्सवादी दृष्टिकोणले भनेझैँ, शोषणको जरै काट्नका लागि यी सबै भ्रमहरूको अन्त्य आवश्यक छ। जब मानिसहरूले यो बुझ्छन् कि उनीहरूको असली पहिचान जात, नस्ल, वा धर्म होइन, बरु उनीहरूको वर्गीय स्थिति हो, तबमात्र उनीहरू साँचो अर्थमा मुक्त हुन सक्छन्।