अन्तर्राष्ट्रिय उड्डयन संगठन (आइकाओ) ले तोकेको मापदण्ड तथा नेपाल सरकारको गुरुयोजना अनुसार विमानस्थलको स्तर वृद्धि गर्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले शुक्रबार (०८१ कात्तिक २३) देखि व्यावसायिक उडानलाई राति १० बजेदेखि बिहान ८ बजेसम्म राकेर पूर्वाधार विस्तार तथा निर्माण कार्य गर्ने भएको छ ।
अहिले जारी भएको नोटाम–सूचना अनुसार, चैत १८ गतेसम्म दैनिक १० घण्टा आन्तरिक र अन्तर्राष्ट्रिय व्यवसायिक उडान हुने छैन । शुक्रबार राति १० बजेको अन्तिम उडानपछि काठमाडौं विमानस्थलबाट हरेक दिन पहिलो उडान बिहान ८ बजेमात्रै हुनेछ । र, राति १० बजेअघि अन्तिम उडान भइसक्नुपर्ने छ । यो समयमा धावनमार्गबाट ७५ मिटरसम्मको संवेदनशील क्षेत्रका निर्माणका काम सक्ने प्राधिकरणको योजना रहेको छ ।
प्राधिकरणका सहप्रवक्ता ज्ञानेन्द्र भुलका अनुसार, काठमाडौं विमानस्थल बिहान ६ बजे खुला भई राति ३ बजेसम्म सञ्चालन हुँदा दैनिक दुईतर्फी आउने/जाने गरेर ३ सय वटा आन्तरिक र १ सयवटा अन्तर्राष्ट्रिय उडान हुँदै आएको थियो । शुक्रबारदेखि विमानस्थल बिहान ८ बजे खुलेर राती १० बजे बन्द हुँदा ३० देखि ३५ प्रतिशतसम्म उडान कटौती हुने छन् ।
‘एसियाली विकास बैंकको अनुदान सहायतमा सन् २००९ मा तयार गरिएको गुरुयोजनाअनुसार सन् २०१३ देखि सुरु भएको काठमाडौं विमानस्थलको स्तरोन्नतिको कामको निरन्तरता हो यो,’ प्राधिकरणअन्तर्गत रहेको हवाई यातायात क्षमता अभिवृद्धि आयोजनाका निर्देशक इन्जिनियर दिपेन्द्र श्रेष्ठले कान्तिपुरसँग भने,‘अहिलेको पूर्वाधार विस्तार र स्तरोन्नतिले काठमाडौं विमानस्थलले आगामी वर्षहरूमा १ करोड २० लाख हाराहारी यात्रुलाई सेवा दिने प्रक्षेपण गरिएको छ । अहिले यसले वार्षिक करिब ८० लाख यात्रुलाई सेवा दिइरहेको छ । तर यसको क्षमता करिब ५० लाख हाराहारी मात्रै हो । यो सीमितताका कारण यात्रुलाई दिने सेवामा सम्झौता गनुपर्ने बाध्यता रहेको छ ।’
विमानस्थलको धावनमार्गको लम्बाई ३ हजार ३ सय ७४ मिटर छ । अहिले १९ सय मिटर लम्बाईको एकमात्र समानान्तर ट्याक्सी–वे छ । यो रन–वेदेखि १ सय १० मिटरको दूरीमा पश्चिमतर्फ पर्छ । धावनमार्गबाट जहाज बाहिरिन र छिर्न अहिले ५ वटा एक्जिट टेक्सी–वे छन् । विमानस्थलको एप्रोनमा अहिले ११ वटा अन्तर्राष्ट्रिय र १८ वटा आन्तरिक विमान मात्रै पार्किङ क्षमता छ । अहिलेको रन–वेको क्षमता प्रतिघण्टा भीएफआर उडानमा ३३ वटा र खराब मौसमका बेला उपकरणको सहायताबाट १२ वटा उडान प्रतिघण्टा रहेको छ । स्तरोन्नतिपछि यो दर २० देखि २५ प्रतिशतले वृद्धि हुने आयोजनाले जनाएको छ ।
काठमाडौं विमानस्थलको अन्तर्राष्ट्रिय टर्मिनल भवनले प्रतिघण्टा १५ सय ७० यात्रु तथा वार्षिक क्षमता ३६ लाख यात्रुलाई सेवा दिन्छ । त्यस्तै एक मात्र आन्तरिक टर्मिनल भवनले प्रतिघण्टा यात्रु ५ सय र वार्षिक यात्रु १० लाख हाराहारीलाई सेवा दिन्छ । प्राधिकरणले विमान तथा यात्रुहरुको चाप अत्याधिक बढ्न गएकाले विमानस्थलको गुरुयोजना अद्यावधिक गरी क्रमिक रूपमा क्षमता विस्तार गर्ने योजना डेढ दशकअघि ल्याएको थियो । जसअनुसार मुख्यत: रनवेको लम्बा बराबर हुने गरी एक छेउदेखि अर्को छेउसम्म जोड्ने समानान्तर ट्याक्सी–वे तथा एक्जिट ट्याक्सी–वे, अन्तर्राष्ट्रिय तथा आन्तरिक jlमान पार्किङ एप्रोन, विमान मर्मत सम्भार गर्न सुरक्षित ह्यांगर आदि निर्माण गर्ने योजना गुरुयोजनमा छन् । त्यसैगरी हालको अन्तर्राष्ट्रिय टर्मिनल भवनलाई आन्तरिक टर्मिनल भवनमा रूपान्तरण गरी प्रतिघण्टा ३५ सय तथा वार्षिक ९० लाख यात्रु क्षमताको नयाँ अन्तर्राष्ट्रिय टर्मिनल भवन निर्माण हुने छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलभित्र यतिबेला नेपाल सरकार र एसियाली विकास बैंकको ऋण सहायतामा करिब १५ अर्ब रुपैयाँका तीनवटा फरक-फरक ठेक्का सञ्चालनमा छन् । ती योजनाहरूमध्ये एसियाली विकास बैंकको सवा ४ अर्ब ऋण सहायतामा पहिलो रनवेको दक्षिणतर्फ जोड्ने समानान्तर ट्याक्सीवे निर्माण भइरहेको छ । त्यस्तै करिब ४ अर्ब ऋणमा रनवेको पूर्वतर्फ ह्यांगर एप्रोन तथा एक्जिट ट्याक्सीवे निर्माण गर्ने कार्य भइरहेको छ । तेसनेपाल सरकार र नेपाल नागरिक उड्डयन प्राधिकरणको करिब ७ अर्ब लागानीमा रनवेको उत्तरतर्फ जोड्ने समानान्तर ट्याक्सीवे र अन्तर्राष्ट्रिय पार्किङ एप्रोन निर्माण गर्ने कार्य भइरहेको छ । इन्जिनियर श्रेष्ठका अनुसार, नेपाल सरकार र प्राधिकरणको आर्थिक स्रोतमा कोभिडपछि नै सुरु भएको ७ अर्ब रुपैयाँ हाराहारीको लगानीमा उत्तरमा करिब २७ मिटरसम्मको गहिरो भागमा माटो भरेर १८ वटा अन्तर्राष्ट्रिय वायुयानका लागि एप्रोन बनाउने कामको थालनी भएको थियो ।