काठमाडौँ । सरकारले दशैँका बेला सार्वजनिक यातायातमा सर्वसाधारण ठगिने क्रम रोक्न नसकेको सांसदहरुले आरोप लगाएका छन् ।
सोमवार प्रतिनिधि सभा अन्तर्गतको पूर्वाधार विकास समिति बैठकमा बोल्दै सांसदहरुले सरकारलाई यस्तो आरोप लगाएका हुन् । सांसदहरुले सरकारले विगतको जस्तो सार्वजनिक यातायातमा टिकट नै नपाउने समस्या हल गरेको भएपनि सर्वसाधरण ठगिने क्रम भने रोक्न नसकेको बताए । उनीहरुले यो वर्षको दशैँमा गाउँघरमा जाने यात्रुहरु सरकारले तोकेको भाडादर भन्दा ४ गुणा बढीले ठगिएको बताए । सांसदहरुले सरकारले यातायातका सवारी दुर्घटना हुन नदिएको दाबी गरे पनि पछिल्लो १५ दिनमा ११३४ वटा दुर्घटना र १०० जनाको ज्यान गएको र ७ सय जना घाइते भएको दाबी गरे । समिति बैठकमा बोल्दै नेपाली काँग्रेसका नेता तथा प्रतिनिधिसभाका सांसद प्रदीप पौडेलले यो पटक को दशैँमा सर्वसाधारण यात्रु चार गुणाले ठगिएको दाबी गर्नुभयो । उहाँले सरकारले दशैँका बेला सार्वजनिक यातायातमा सर्वसाधारण ठगिने क्रम यो पटक पनि रोक्न नसकेको उल्लेख गर्नुभयो । उहाँले दशैंमा सार्वजनिक यातायात सहज र व्यवस्थित भएको भन्ने सरकारको भनाई गलत रहेको बताउनु भयो । उहाँले सडकहरुको दुराअवस्था, यातायात व्यवसायीहरुको मनलाग्दी र सरकारको बेवास्ताका कारण यो वर्ष पनि दशैँको सार्वजनिक यातायात सहज र सुलभ हुन नसकेको उल्लेख गर्नुभयो ।
उहाँले भन्नुभयो,‘सर्वसाधारण यात्रु सार्वजनिक यातायातबाट भाडामा चार गुणाले ठगिएका छन् । यसको कयौं प्रमाण मसँग छ । सवारी भाडामा प्रायः सबै यात्रुहरु ठगिएका छन् । र पनि सरकार केही भएन भनिरहेको छ । खै ! बद्मास एउटै यातायात व्यवसायीलाई कारबाही गर्नुभयो ? गर्न सक्नुभयो ?’
नेकपा एमालेका सांसद ठाकुरप्रसाद गैरेले दशैँको १५ दिनमा १ हजार १३४ वटा दुर्घटना र १०० जनाको ज्यान जाँदा समेत सरकारले दुर्घटना हुन नदिएको भन्दै दाबी गर्नु जायज नभएको बताउनु भयो । उहाँले चाडपर्वको समयमा यातायात व्यवस्था सहज बनाउने र यात्रु ठगि रोक्न समितिले सरकारलाई लिएको निर्देशन पूर्ण रुपमा सरकारले पालना नगरेको बताउनु भयो । उहाँले यातायात मन्त्री ज्वालालाई प्रहरीको सूचना थाहा छ ? भन्दै पछिल्लो १५ दिनमा १ हजार १३४ वटा दुर्घटना र १०० जनाको ज्यान जाँदा समेत सरकारलाई जानकारी नहुन दुखद् भएको बताउनु भयो । उहाँले पछिल्लो १५ दिनमा १ हजार १३४ वटा दुर्घटना र १०० जनाको ज्यान गएको र ७ सय जना घाइते हुनु सामान्य कुरा नभएको बताउनु भयो ।
त्यस्तै, समिति बैठकमा जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त राउतले सार्वजनिक यातायातमा यात्रुहरु ठगि रोक्नको लागि अनलाइन टिकट प्रणाली व्यवस्थित रुपमा लागू गर्न आवश्यक रहेको बताउनु भयो । उहाँले सबै सार्वजनिक यातायातका सवारी साधनमा भाडादर सहज रुपमा हेर्न सक्ने प्रणालीको विकास गर्नसके ठगि नियन्त्रण गर्न सकिने बताउनु भयो ।
समिति बैठकमा बोल्ने अधिकांश सांसदहरुले चाडपर्वमा सरकारले भने जस्तो यातायात व्यवस्था सहज बनाउन नसकेको गुनासो गर्नुभयो । त्यस्तै बैठकमा सांसदहरुले ठेक्का सम्झौता भएर निमार्ण कार्य अगाडि बढेका र बन्न लागेको सडकहरु तत्काल सम्पन्न हुननसक्नुको मन्त्रीसँग कारण माग समेत गर्नुभयो ।












