काभ्रेमा डेङ्गुको सङ्क्रमण पुनःबढ्यो

काभ्रेपलाञ्चोक, २८ असोज : काभ्रेपलाञ्चोकमा पुनःडेङ्गुको सङ्क्रमण देखिएको छ । जिल्लाको १० स्थानीय तहमा हाल एक सयको हाराहारी डेङ्गु सङ्क्रमित रहेको जिल्ला स्वास्थ्य कार्यालय धुलिखेलले जनाएको छ ।

कार्यालयका अनुसार अघिल्लो हप्ता करिब ५० को सङ्ख्यामा रहेको डेङ्गु सङ्क्रमित बढेर हाल एक सय तीन पुगेको हो । सबैभन्दा बढी बनेपा नगरपालिकामा ४१ सङ्क्रमित रहेको जनाइएको छ । यसमध्ये २० महिला र २१ पुरुष सङ्क्रमित हुन् ।

यस्तै धुलिखेल नगरमा २१ जना, नमोबुद्ध नगरमा १२ जना डेङ्गु सङ्क्रमित रहेका छन् । मण्डनदेउपुर नगरमा सात, रोशी गाउँपालिकमा सात पाँचखाल नगरमा छ, पनौती नगरमा चार तथा भुम्लु, तेमाल, खानीखोला, चौँरीदेउराली र महाभारत गाउँपालिकामा एक/एक जना सङ्क्रमित रहेको कार्यालयका निमित्त प्रमुख राजारम अधिकारीले बताउनुभयो । उहाँका अनुसार केही दिन डेङ्गु सङ्क्रमण बढ्नसक्ने अनुमान गरिएको छ ।

सङ्क्रमितमध्ये केही विभिन्न अस्पतालमा उपचाररत रहेको जनाइएको छ । काभ्रेपलाञ्चोकमा यसअघि छ सय ८० डेङ्गुबाट सङ्क्रमित भइसकेका छन् । डेङ्गुको उच्च जोखिमका रुपमा रहेको काभ्रेपलाञ्चोकमा केही महिनादेखि प्रत्येक शुक्रबार ‘खोज र नष्ट गर’ अभियान सञ्चालन गरिएको थियो । डेङ्गुको उच्च जोखिमका नेपालका १० जिल्लामध्येमा काभ्रेपलाञ्चोक पनि समावेश छ ।

लामखुट्टेले बसोबास गर्नसक्ने गाडीसवारी एवं यातायातका साधन मर्मत केन्द्र, टायर, पानी जम्ने ठाउँ, खेतबारीमा राखिएको टायर, पानी जम्ने ठाउँ, उद्योग, कलकारखाना, होटेल तथा व्यवसायमा रहने टायर, घर तथा अफिसमा रहने गमला, सजावट सामाग्री, मठ, मन्दिरमा रहेका कतराजस्ता पानी जम्ने ठाउँलाई नियमित सरसफाइ गर्ने तथा पानी जम्न नदिन सरकारले अपिल गर्दै आएको छ ।

लामखुट्टेको टोकाइबाट डेङ्गु रोग लाग्ने व्यक्तिलाई एक्कासी उच्च ज्वरो आउने र पाँचदेखि सात दिनसम्म ज्वरो रहने, सहन नसक्नेगरी टाउको दुख्ने, आँखाको नानी तथा पछिल्लो भाग दुख्नुका साथै ढाड, जोर्नी र मांशपेसी दुख्ने, शरीरमा बिमिरा आउने तथा वाकवाकी लाग्ने, पेट दुख्ने, नाक अथवा गिँजाबाट रगत बग्नु, शरीरमा रगत जेमेको दाग देखापर्नु तथा बेहोस हुने लक्षण देखिन्छ । समयमै उचित उपचार नपाए बिरामीको मृत्युसमेत हुने गर्दछ ।

Facebook
Twitter
LinkedIn
Pinterest
Pocket
WhatsApp

सम्बन्धित खबर

ताजा समाचार

लोकप्रिय समाचार