‘फल्स फ्रन्ट पेज’ सार्वजनिक

काठमाडौँ, १३ माघ : नेपाली पत्रकारिताको अभ्यासका क्रममा हुने कमजोरीलाई मिहीन ढङ्गले केलाएर प्रस्तुत गरिएको अनुसन्धानमूलक पुस्तक ‘फल्स फ्रन्ट पेज’ सार्वजनिक भएको छ । खोज पत्रकारका रुपमा परिचित कलेन्द्र सेजुवालले लेख्नुभएको उक्त पुस्तक आज उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले विमोचन गर्नुभयो ।

पुस्तकमाथि टिप्पणी गर्दै पुस्तक विमोचन कार्यक्रमका सहभागीले अखबारी पत्रकारिताको पहिलो पृष्ठमा हुने कमजोरीलाई पुस्तकले विषयवस्तुका आधार बनाएको बताएका छन् । खोज पत्रकारितामा सक्रिय सेजुवालको उक्त पुस्तक पत्रकारिता क्षेत्रमा अर्को इँटा थपिएको विज्ञहरुको भनाइ थियो ।

पुस्तकको केन्द्रमा सुर्खेतबाट प्रकाशित पत्रिकाहरुका फ्रन्ट पेज (पहिलो पृष्ठ) समावेश गरिएका छन् । साथै एफएम रेडियो र टेलिभिजनका प्रमुख, प्रदेश सीमाङ्कन आन्दोलनमा सुर्खेतका सञ्चारमाध्यमको भूमिकालगायत विषयवस्तु समेटिएका लेखक सेजुवालले बताउनुभयो ।

सांसद कान्तिका सेजुवालले फल्स फ्रन्ट पेज समग्र सञ्चारमाध्यमको समीक्षात्मक प्रतिवेदन रहेको भन्दै यसले पत्रकारिता क्षेत्रमा देखिएका कमीकमजोरी सुधारेर उच्च व्यावसायिक अभ्यासका निम्ति मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले पत्रकारिता क्षेत्रको उच्च व्यावसायिक अभ्यासमा रहेका कमजोरीलाई सुधार्न पुस्तक उपयोगी हुने बताउनुभयो । उहाँले देश र समाजको ऐनाका रुपमा रहेको पत्रकारिताको धारलाई बदल्दै सकारात्मक दृष्टिकोणबाट पेसागत इमान्दारिता निर्वाह गर्नु आजको आवश्यकता रहेको उल्लेख गर्नुभयो ।

नेपाल पत्रकार महासङ्घका अध्यक्ष बिपुल पोखरेलले पत्रकारिता क्षेत्रका कमीकमजोरीलाई पुस्तकमार्फत सूक्ष्म ढङ्गले उठान गरिएकाले यो पुस्तक पत्रकारिता क्षेत्रका विद्यार्थीका लागि उपयोगी सामग्री हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले समाजलाई सही ढङ्गले सुसूचित गर्न र समाजको दृष्टिकोण बदल्न सञ्चारमाध्यमले सत्यतथ्य सूचना सम्प्रेषण गर्न जरुरी भएको खाँचो औँल्याउनुभयो ।

राष्ट्रिय समाचार समिति (रासस)का कार्यकारी अध्यक्ष एवं महासङ्घका पूर्वअध्यक्ष धर्मेन्द्र झाले पत्रकारिता क्षेत्रका लागि पुस्तक निकै उपयोगी हुने धारणा राख्नुभयो । पेसागत व्यावसायिकता, पत्रकारिताको सिद्धान्तसँग कुनै पनि सम्झौता नगर्ने व्यक्तिका रुपमा आफूले पत्रकार सेजुवाललाई चिनेको भन्दै उहाँले पत्रकारिता क्षेत्रका लागि आगामी दिनमा पनि थप पुस्तक आउन सकोस् भनी शुभकामना व्यक्त गर्नुभयो ।

महासङ्घका पूर्वअध्यक्ष किशोर नेपालले ‘सोसल मिडिया’ का कारण आजको पत्रकारितामा चुनौती थपिएको, पत्रकार स्वयं कामप्रति सक्रिय नभएको भन्दै पत्रकारिताको व्यावसायिक मर्म र भावनालाई जीवित राख्न सबै जिम्मेबार भएर लाग्नुपर्नेमा जोड दिनुभयो । उहाँले सिजुवालको पुस्तक सबै पत्रकारका लागि उपयोगी हुने बताउनुभयो ।

महासङ्घका पूर्वअध्यक्ष सुरेश आचार्यले नेपाली पत्रकारितामा सच्चिन चाहनेका लागि पुस्तक प्रेरणादायी बन्ने विश्वास व्यक्त गर्नुभयो । महासङ्घका अर्कापूर्वअध्यक्ष महेन्द्र बिष्टले पत्रकारिताको पुरानो अभ्यासलाई समीक्षा गरेर समयसापेक्ष बनाउन पुस्तकले सहयोग गर्ने बताउनुभयो ।

पत्रकार निर्मला शर्माले पत्रकारिताका आधारभूत सिद्धान्त र उच्च व्यावसायिक अभ्यासमा देखिएका कमजोरी सुधार्न तथा यस क्षेत्रका अध्येताका लागि पुस्तक उपयोगी बन्ने विश्वास व्यक्त गर्नुभयो । सुदूरपश्चिम विश्वविद्यालयका उपप्राध्यापक कमलेस बिसीले पत्रकारिता क्षेत्रका अनुसन्धानकर्ता र आम पाठकका लागि पुस्तक सन्दर्भ सामग्री बन्ने बताउनुभयो ।

पुस्तकका लेखक सेजुवालले पत्रकारिताको अभ्यासका क्रममा आफूले भोगेका, देखेका विषयवस्तुलाई सजीव ढङ्गले प्रस्तुत गरिएको उल्लेख गर्नुभयो । प्रेस फ्रिडम मिडिया प्रालिले प्रकाशन गरेको उक्त पुस्तकको मूल्य रु पाँच सय रहेको छ । पुस्तक बिक्रीबापत भएको आम्दानीको ५० प्रतिशत रकम खोज पत्रकारितामा हौसला प्रदान गर्नका लागि प्रयोग गरिने लेखक सेजुवालले जानकारी दिनुभयो । उहाँले प्रदेश पत्रकारिता पुरस्कार स्थापनाका लागि अक्षयकोष स्थापना गरिने बताउनुभयो ।

खोज पत्रकारितामा दक्खल राख्ने पत्रकार सेजुवाल विगत २५ वर्षदेखि पत्रकारितामा क्रियाशील हुनुहुन्छ । उहाँ हाल नेपाल पत्रकार महासङ्घको कोषाध्यक्ष हुनुहुन्छ ।

Facebook
Twitter
LinkedIn
Pinterest
Pocket
WhatsApp

सम्बन्धित खबर

ताजा समाचार

लोकप्रिय समाचार