सहकारी संस्थाको रकम दुरुपयोग गरेको आरोपमा रास्वपा सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछाने र पूर्वडीआईजी छविलाल जोशी बञ्जाडेविरुद्ध बुधबार जिल्ला प्रहरी कार्यालय चितवनमा उजुरी परेको छ । साहारा चितवन बहुउद्देश्यीय सहकारी संस्थाका बचतकर्ताहरूले ठगी र संगठित अपराधमा उनीहरूमाथि अनुसन्धान गर्नुपर्ने मागसहित प्रहरीमा पूरक उजुरी दिएका हुन् ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक (एसपी) गौतम मिश्रले बचतकर्ताको पूरक उजुरी आएको पुष्टि गर्दै त्यसमाथि थप अध्ययन गरेर अनुसन्धान अगाडि बढाउने बताए । यसअघि गत वर्ष असोज ९ मा साहाराका बचतकर्ताले रकम हिनामिनाविरुद्ध प्रहरीमा उजुरी दर्ता गराएका थिए । त्यसमाथि छानबिन गरेर १७ जनाविरुद्ध जिल्ला अदालतमा मुद्दा चलाइएको थियो । मुद्दा दायर गर्दा जिल्ला न्यायाधिवक्ता (सरकारी वकिल) को कार्यालयले साहारा चितवन सहकारीको रकम गएको देखिएको गोर्खा मिडियामाथि थप अनुन्धान गर्न पनि प्रहरीलाई निर्देशन दिएको थियो । यस विषयमा अनुसन्धान भइरहेको र अनुसन्धान सकिएपछि पूरक अभियोगपत्र अदालत लगिने प्रहरीले जनाएको छ ।
यसअघि अदालतमा दायर अभियोगपत्रमा ४ सय ४६ जना पीडित बचतकर्ताको ३७ करोड ६५ लाख ८४ हजार ५४६ रुपैयाँ भराउनुपर्ने देखिएको उल्लेख थियो । सहकारीमा ५२ करोड ३२ लाख ८५ हजार ३ सय ८ रुपैयाँ बचत जम्मा भएको अनुसन्धानले देखाएको थियो । कुल बचतकर्ता ६ हजार ३ सय ३४ जना छन् । बचत रकम र हाल दाबी गरेको रकममा फरक देखिएको १४ करोड ६७ लाख ७६२ रुपैयाँ भने पछि बचतकर्ताहरूको उजुरी परेका बखत कानुनबमोजिम हुने अभियोगपत्रमा उल्लेख छ । साहारा चितवन सहकारीको रकम गोर्खा मिडियाका साथै नेचर हर्ब्स इन्टरनेसनल प्रालि, जीबी ग्रुप अफ कम्पनी, नेचर नेस्ट प्रालि, चन्द्रागिरि सब रेमिट प्रालि, नेक्स म्युजिक बार प्रालि र स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थामा गएको चितवन प्रहरीको अनुसन्धानले देखाएको छ । बचतकर्ताहरूले यी संस्था र कम्पनीका सञ्चालक साझेदारहरूविरुद्ध पनि पूरक उजुरी दिएका छन् ।