भैंसेपाटी हनिट्रयाप प्रकरण : इन्सपेक्टर शाहीसहित ६ जनालाई मुद्दा चलाउन सिफारिस

प्रहरी प्रभाग भैंसेपाटीकी प्रमुख इन्सपेक्टर विनुकुमारी शाहीसहित ६ जनालाई मुद्दा चलाउन सिफारिस गरिएको छ। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)का प्रवक्ता होविन्द्र बोगटीले हनिट्रयाप प्रकरण मुद्दाको अनुसन्धान सकेर मंगलबार जिल्ला सरकारी वकिल कार्यालय ललितपुरमा प्रतिवेदन बुझाएको जानकारी दिए।

युवतीलाई गलत प्रयोग गरेर विराटनगरका एक व्यापारीलाई फसाउने धम्की दिएर उनीबाट ३० लाख असुलेको आरोप इन्सपेक्टर शाहीमाथि छ। मुद्दा चलाउन सिफारिस गरिएका ६ जनामध्ये शाही र दर्शन पोखरेल फरार रहेका छन्। यसअघि नै पक्राउ परेका भैंसेपाटीकै सहायक हवल्दार महेन्द्र हमाल, सुनसरीको इटहरीका सुष्मा विक, ताज स्लाम र भीमादेवी थापाविरुद्ध पनि संगठित अपराध र आपराधिक लाभ कसुरमा मुद्दा चलाउन सीआईबीले सिफारिस गरेको हो।

 

उक्त मुद्दामा संलग्न भनिएका तत्कालीन जिल्ला प्रहरी परिसरका एसपी कमल थापाको संलग्नता भेटिएको छैन। सीआईबी प्रबक्ता बोगटी भने, ‘उक्त मुद्दाको अनुसन्धान गर्ने क्रममा एसपी थापाको संलग्नता पुष्टि भएको छैन। अनुसन्धानका क्रममा उहाँलाई ल्याएर बयान लिएर ठाडो कागज गरेका छौं। अहिलेसम्मको अनुसन्धानमा उहाँको संलग्नता खुलेको छैन। बयानका क्रममा एसपी थापाले भैसेंपाटी घटनामा आफ्नो संलग्नता अस्विकार गरेका छन्।’

एसपी थापाले आरोपीहरुलाई पहिलेदेखि नै चिनेको हुनाले कहिलेकाँही व्यावसायिक फोन सम्पर्क हुने गरेको बताएका थिए। सीआईबीसँगको बयानमा एसपी थापाले व्यावसायिक चिनजान र फोन कन्ट्याकलाई अपराधसँग जोड्न नमिल्ने जिकिर गरे।

 

वोगटी भने, ‘एसपी थापा संलग्न हुने कुनै कागजात र आधार प्रमाण अहिलेसम्म सीआईबीले फेला पार्न सकेको छैन। घटना शंकास्पद देखिएपछि जिल्ला प्रहरी परिसर ललितपुरले अनुसन्धान शुरु गरेको थियो। अनुसन्धानका क्रममा जिल्ला प्रहरी परिसर ललितपुरमा कार्यरत एसपी कमल थापाको समेत संलग्नता देखिएको भन्दै सीआईबीले थप अनुसन्धान गरेको थियो।’

 

अहिले प्रतिवादी बनाउन सिफारिस गरिएकामध्ये इन्सपेक्टर शाही र दर्शन पोखरेल छन्। प्रहरी प्रतिवेदन अनुसार सहायक हवलदार हमालले व्यवसायीबाट असुल गरिएको रकम बैंकमा जम्मा गर्न लगाएको आरोप छ। बोगटीका अनुसार यस घटनाको मुख्य योजनाकारमा अहिले प्रहरी हिरासतमा रहेकी सुस्मा विक र ताज स्लाम रहेका छन्। सुनसरीकै एक होटलमा वेटरको काम गर्दे आएकी सुस्मा त्यहाँ आउने एक व्यवसायीसँग नजिकिएकी थिइन्। उनीहरुको सम्बन्ध थाहा पाएका अन्य व्यक्तिले सुस्मालाई प्रयोग गरेर यो घटना घटाएको प्रहरीको निष्कर्ष छ।

 

घटना के भएको थियो ? 

इन्सपेक्टर शाहीले विराटनगरका ति व्यापारीलाई बलात्कार मुद्दामा फसाइदिने भन्दै ३० लाख रुपैयाँ लिएको आरोप लागेको हो।  बलात्कारको उजुरी दिने युवतीसँग मिलेमतोमा इन्सपेक्टर शाहीले आर्थिक हिनामिना गरेको अनुमान छ। व्यापारीलाई शान्ति सुरक्षा सम्बन्धी कसुरमा पक्राउ गरी बलात्कार मुद्दामा फसाउने धम्की दिएर पैसा असुल गरिएको थियो।

 

बलात्कार मुद्दामा फस्ने डरले व्यापारीले ति युवतीको साथीको नाममा २० लाख नगद जम्मा गरेको र १० लाखको चेक दिएको बुझिएको छ। युवतीले सुरुमा ६० लाखको माग गरेकी थिइन्।

 

व्यापारीको गाडीसमेत प्रहरी प्रभागमा तानेर छाड्ने बेलामा थप डेढ लाख रुपैयाँ लिएको आरोप छ। गत असोज ७ गते विराटनगरका व्यापारीलाई पक्राउ गरी प्रहरी कार्यालय भित्रनै आर्थिक बार्गेनिङ गरेको उजुरी परेको छ। व्यापारीले रकम बुझाएपछि उनलाई छाडिएको थियो।

 

प्रहरीका अनुसार ति व्यापारी र युवतीबीच सुनसरीमै चिनजान भएको थियो। युवतीले आफुलाई भेट्न भन्दै व्यापारीलाई भैसेपाटीमा बोलाएकी थिइन्। युवती भेट्न आएका व्यापारीलाई प्रहरीले पक्राउ गरेर प्रहरी प्रभाग भैसेपाटीमा पुर्‍याएको थियो।

 

प्रहरी जवान कुटेर विवादमा तानिएकी थिइन् इन्सपेक्टर शाही 
गत माघमा पूर्वप्रहरी जवान राजेन्द्र नाथले कन्चनपुरकी तत्कालीन इन्सपेक्टर शाहीबाट यातना पाएर जागिर छाड्न बाध्य भएको बताएका थिए। पुर्वप्रहरी राजेन्द्र नाथले एक महिना बिदा थप गर्न इन्सपेक्टर शाहीसँग जाँदा उनले कुटपिट गरेर पक्राउ गरी ३ दिन थुनेको बताएका थिए। पक्राउ पुर्जी नभइ हिरासतमा राखेर यातना दिएको विषयमा समाचार बाहिरिएको थियो। समाचार लेख्ने २ जना पत्रकारलाई समेत शाहीले पक्राउ गरेर थुनाएकी थिइन्।

Facebook
Twitter
LinkedIn
Pinterest
Pocket
WhatsApp

सम्बन्धित खबर

ताजा समाचार

लोकप्रिय समाचार