समयमै हवाई टिकट नपाएपछि शिशुको मृत्यु भएको छ। हवाई जहाज कम्पनीले टिकट नदिएपछि मङ्सिर ४ गते जिल्ला अस्पतालमा शिशुको मृत्यु भएको पीडित पक्षले आरोप लगाएका छन्।
खार्पुनाथ गाउँपालिका–१,लाली गाउँकी २० वर्षीया शान्ती शाहीलाई सुत्केरी व्यथा लागेपछि मङ्सिर २ गते जिल्ला अस्पतालमा पु्र्याएको थियो। जिल्ला अस्पतालमा शाहीको स्वास्थ्य चेकजाँच गर्दा पेटमा भएको शिशु उल्टो अवस्थामा रहेको र जिल्ला अस्पतालमा ब्लड बैङ्कको व्यवस्था नहुँदा सोही दिन उनलाई जिल्ला बाहिर सुविधा सम्पन्न अस्पतालमा रिफर गरिएको थियो ।
अस्पतालको रिफर पत्रमा हवाई टिकटको व्यवस्थाका लागि जिल्ला प्रशासन कार्यालयलाई सम्बोधन समेत गरिएको थियो । हवाई टिकटका लागि उनका श्रीमान सुरज शाही जिल्ला प्रशासन कार्यालय पुगे। तर, जिल्ला प्रशासन कार्यालयले हवाई टिकटको व्यवस्थाका लागि पहल नगरिदिएको शाहीले गुनासो गरे।
जिल्ला अस्पताल कार्यालय प्रमुख प्रतिक्षा भारतीले गर्भवती महिलाको स्वास्थ्य चेकजाँच गर्दा पेटभित्र बच्चा उल्टो रहेको र जिल्लामा जोखिम मोल्न नसकिने भएपछि जिल्ला बाहिर रिफर गरिएको बताइन्। उनका अनुसार हुम्लामा ब्लड बैङ्क नहुनु , गर्भवती महिलाको ओ नेगेटिभ ब्लड हुनु र जिल्लामा उक्त ब्लड अभाव भएपछि सुविधा सम्पन्न अस्पताल जान अनुरोध गरेको बताइन् ।
जिल्ला अस्पतालले रिफर पत्रमा एयरलाइन्स कम्पनी र जिल्ला प्रशासन कार्यालयलाई समेत टिकटका लागि अनुरोध गरेको थियो। कतैबाट टिकटको व्यवस्था नभएपछि शिशु गुमाउनु परेको दुखेसो प्रमुख भारतीले पोखिन्। उनले भनिन्, ‘आमालाई बचाउन सकेपनि शिशुलाई बचाउन सकिएन।’
हवाई टिकटका लागि आधिकारिक सिफारिस नगरेको स्वीकार गर्दै सहायक प्रमुख जिल्ला अधिकारी अमृत प्रसाद सुवेदीले मौखिकमा एयरलाइन्सका कर्मचारीलाई टिकटको विषयमा बुझ्दा गर्भवती महिला ३२ हप्ता नाघि सकेकाले अन्य यात्रुसँग पठाउन नमिल्ने एयरलाइन्सका कर्मचारीबाट प्रतिक्रिया आएको बताए।
उनका अनुसार गर्भवती महिलालाई उद्धारका लागि व्यक्तिगत हवाई चार्टर गर्नुपर्ने भएकाले मङ्सिर ३ गते उद्धार हुन नसकेको हो । नेपाल सरकारले विगत लामो समयदेखि दुर्गम हिमाली जिल्लाहरूका लागि राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत हवाई लिफ्टिङ कार्यक्रम सञ्चालन गर्दै आएको छ । तर, त्यो प्रभावकारी हुन सकेको छैन।