साइबर अपराधमा पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई थप अनुसन्धान गर्न म्याद थपका लागि आज अदालत पेस गरिने भएको छ । उनीमाथि किर्ते र विद्युतीय अपराध नियन्त्रण ऐनअन्तर्गतको कसुरमा अनुसन्धान भइरहेको र थप अनुसन्धानका लागि म्याद थप गर्न आज पेश गर्ने प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले जनाएको छ।
सीआईबीका प्रवक्ता होविन्द्र बोगटीले प्रधानमन्त्री केपी शर्मा ओलीको मानमर्दन हुने गरी झुठो र भ्रामक समाचार सम्प्रेषण गरेकाले प्रसाईंलाई पक्राउ जानकारी दिए। बुधबार बिहान भक्तपुरस्थित निवासबाट पक्राउ परेका प्रसाईंलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले वीर अस्पतालमा स्वास्थ्य जाँचपछि थप अनुसन्धानका लागि साइबर ब्यूरोमा पठाएको थियो। प्रसाईंले किर्ते कागजात देखाएर प्रधानमन्त्री ओलीको कम्बोडियास्थित स्मार्ट एक्जिएटा टेलिकम कम्पनीमा लगानी रहेको भ्रम फिजाउँदै प्रसाईंले सोमबार केही कागजात सार्वजनिक गरेका थिए।
प्रसाईंले सुनियोजित रूपमा नै नक्कली कागजात भेला गरेको र भ्रम फैलाउन सामाजिक सञ्जालमा सार्वजनिक गरेको प्रहरीको अनुमान छ। सीआईबी प्रमुख एआईजी दीपक थापाले प्रसाईंले सार्वजनिक गरेका सबै कागजात र विवरण झुटो रहेको बताए । उनले भने, ‘कागजातका विषयमा प्रहरीले चेकजाँच गरिरहेको छ ।’
यसअघि काठमाडौं जिल्ला अदालतले प्रसाईंलाई विद्युतीय कारोबार ऐनअन्तर्गतको कसूरमा अनुसन्धान गर्नका लागि पक्राउ अनुमति दिएको थियो। लगत्तै पक्राउ परेका प्रसाईंलाई प्रहरीले नियन्त्रण लिएको थियो। साइबरसम्बन्धी कसुरमा असोज १५ गते जिल्ला अदालत काठमाडौंले प्रसाईंलाई धरौटीमा छोड्न आदेश दिएको थियो। एक लाख रुपैयाँ धरौटी बुझाएर उनी छुटेका थिए। ‘फेक डकुमेन्ट’ को सहारामा प्रधानमन्त्री ओलीविरुद्ध दुष्प्रचार गरेको भन्दै प्रहरीले उनलाई पुन: नियन्त्रणमा लिएको हो।
उनलाई विद्युतीय कारोबार ऐनको दफा ४७ अनुसारको कसुर गरेको अभियोगमा ५ वर्ष कैद सजायको मागदावीसहित यसअघि मुद्दा दायर भएको छ। उक्त मुद्दाको फैसला आउन भने बाँकी नै छ।