नेपाल प्रिमियर लिग (एनपिएल) को टोली विराटनगर किङ्सले अभिनेता दयाहाङ राईलाई गुडविल एम्बासडर बनाएको छ । आइतबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गर्दै विराटनगर किङ्सले राईलाई गुडविल एम्बासडर घोषणा गरेको हो ।
कार्यक्रममा क्यानका सचिव पारस खड्काले एनपिएलले नेपाली क्रिकेटलाई धेरै माथि उठाउने बताए । खड्काले लिग खेल्न आउने विदेशी खेलाडीहरूको श्रम स्वीकृतिलगायतका काममा क्यानले सहजीकरण गर्ने जानकारी दिए। उनले छिट्टै लिगको खेल तालिका सार्वजनिक गर्ने जानकारी दिए। उपनिर्वाचनका कारण मंसिर १६ गते खेल आयोजना गर्न सम्भव नभएकाले छिट्टै नयाँ खेल तालिका सार्वजनिक गर्ने खड्काको भनाई छ।
विराटनगरमा सन्दीप लामिछाने मार्की खेलाडी रहेका छन् भने आयरल्याण्डका पुर्व क्रिकेटर केबिन ओब्राइन विराटनगरको मुख्य प्रशिक्षक रहेका छन् । क्यानको आयोजनामा मंसिर १६ गतेदेखि पुस ६ गतेसम्म पहिलो संस्करणको एनपिएल आयोजना हुँदैछ ।