सत्तारूढ एमालेले माओवादी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले भारतीय अखबार ‘द हिन्दु’ सँगको अन्तर्वार्तामा प्रधानमन्त्री केपी शर्मा ओलीप्रति गरेको टिप्पणीको भर्त्सना गरेको छ । दाहालले अन्तर्वार्तामा प्रधानमन्त्री केपी शर्मा ओलीले ‘चाइना कार्ड प्रयोग गरेको’ बताएका थिए ।
ओलीले मंसिर १७ देखि गर्न लागेको चीन भ्रमणको निर्णयसमेत अपरिपक्व भएको दाहालले टिप्पणी गरेका थिए । एमालेले शनिबार प्रेस विज्ञप्ति जारी गर्दै उक्त आरोप निराधार, गैरजिम्मेवारपूर्ण र नेपालको सार्वभौम छवि र परराष्ट्र नीतिमा गहिरो चोट पुर्याउने कार्य भएको जनाएको हो । ‘यी कथनहरू कूटनीतिक प्रोटोकलको सरासर उल्लंघन हुन् र नेपालको स्वतन्त्रताको पूर्ण अवहेलना देखाउँछन् । सार्वभौमसत्ता सम्पन्न राष्ट्र भएकाले नेपाललाई आफ्नो कूटनीतिक संलग्नताका लागि कुनै बाह्य स्वीकृति आवश्यक पर्दैन,’ एमाले विदेश विभाग प्रमुख रघुवीर महासेठद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।
‘प्रधानमन्त्रीको चीन भ्रमणको निर्णय नेपालको स्वतन्त्र परराष्ट्र नीतिको प्रतिबिम्ब हो, झूटो दाबी गरिएको कार्ड कूटनीति होइन,’ विज्ञप्तिमा उल्लेख छ ।भारत र चीन दुवै नेपालको विकास र समृद्धिको हिस्सा भएको जनाउँदै एमालेले दाहालको भनाइले नेपालले आफ्ना दुई छिमेकीसँग कायम राखेको सन्तुलनलाई कमजोर पार्ने जनाएको छ । ‘यस्ता विचारहीन टिप्पणीले यी राष्ट्रहरूसँग नेपालले कायम राखेको बलियो र समान साझेदारीलाई खलल पार्ने खतरा छ,’ विज्ञप्तिमा उल्लेख छ ।
एमालेले परराष्ट्र नीति सानोतिनो राजनीतिक झगडाको विषय नभएको र पूर्वप्रधानमन्त्री दाहालको भनाइ नेपालको अन्तर्राष्ट्रिय मान्यताका लागि पनि हानिकारक भएको जनाएको छ । साथै एमालेले भारत र चीन दुवैसँग नेपालको सन्तुलित सम्बन्ध कायम गर्ने प्रतिबद्धता दोहोर्याउँदै दाहाललाई आफ्ना गैरजिम्मेवारपूर्ण अभिव्यक्ति फिर्ता लिन र नेपाली जनतासँग माफी माग्न आग्रह गरेको छ ।