अर्थमन्त्री विष्णु पौडेलले पछिल्ला दिनमा अर्थतन्त्रका बाह्य पक्षहरू सवल र सकारात्मक बन्दै गएको बताएका छन्। आइतबार नेपाल राष्ट्र बैंकले बुझाएको आर्थिक वर्ष २०८०/०८१ को आय/व्ययको प्रतिवेदन बुझ्दै अर्थमन्त्री पौडेलले अर्थतन्त्रका बाह्य र आन्तरिक सूचक सकारात्मक बन्दै गएको बताएका हुन्।
अर्थतन्त्रका बाह्य सूचक सकारात्मक बन्दै गएपनि केही चुनौती भने देखा परेको उनको भनाइ छ। उनले आयात,निर्यात र राजश्व, पुँजीगत खर्चलगायत क्षेत्रमा सोचेजस्तो नतिजा ल्याउन नसकेको बताए। उनले भने,’केह चुनौतीहरू देखा परेका छन्। समग्रमा माग घटेको छ। उत्पादन, रोजगारी, आयात, निर्याता, राजश्व, पुँजीगत खर्चजस्ता कुरामा तुलनात्मक रुपमा अपेक्षति नतिजा लिन सकेका छैनौं। यी कुरामा नतिजा ल्याउनेगरी काम गर्नुपर्नेछ।’
अर्थमन्त्री पौडेलले राष्ट्र बैंकले अवलम्बन गरेका मौद्रिक नीतिहरूले नेपालको आर्थिक क्षेत्रमा सकारात्मक प्रभाव पर्दै गएको बताए। उनले बैंकहरूको सस्तो ब्याजदरलाई उत्पादन क्षेत्रमा सदुपयोग गर्न सके आर्थिक क्षेत्रमा फड्को मार्न सकिने बताए।
‘पछिल्लो दिनमा बैंकको ब्याजदर र तरलताको अवस्था स्वीकार गर्ने अवस्थामा छौं। ब्याजदरको सहजतालाई उत्पादनको क्षेत्रमा कसरी सदुपयोग गर्न सकिन्छ भन्ने प्रश्न पनि उब्जिएको छ,’उनले भने,’ यसमा राष्ट्र बैंकको ध्यान जानेछ।’