बुबाको हत्या गर्ने छोरा १५ दिनपछि पक्राउ परेका छन्। पक्राउ पर्नेमा नमोबुद्ध नगरपालिका-७ धारापानी स्थित पुजारी थुम्काका ४४ वर्षीय रामलाल श्रेष्ठ रहेका छन्।
७४ वर्षीय बल बहादुर श्रेष्ठलाई अंशबारे भएको विवादपछि छोराले आग्लोले हानेका थिए। आग्लोले हानेर बुबा ढलेपछि घाँटी थिचेर हत्या गरेको अनुसन्धानमा देखिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
प्रहरीका अनुसार राति खाना खाएपछि रामलालले बुबासँग अंश माग गरेका थिए। बुबाले सबै भाइलाई बोलाएपछि मात्र अंश दिने बताएका थिए। यसै विषयमा बाबुछोराबीच भनाभन भयो। त्यस लगत्तै छोराले हँसिया उठाए। तीन/चार पटक बाबुको अनुहारमा प्रहार गरे। त्यसपछि ढोकामा भएको आग्लो निकालेर हाने। बुबा ढलेपछि घाँटी थिचेर हत्या गरे। हत्या गरेर फरार भएका उनलाई स्थानीयको सहयोगमा पक्राउ गरिएको प्रहरीले जनाएको छ।















