भारतको नक्कली आधार कार्ड बनाएर बंगलादेशी नागरिकलाई नेपाल छिराउने गिरोह सक्रिय

विराटनगर — बंगलादेशीलाई भारतको नक्कली आधार कार्ड बनाएर अवैध रूपमा नेपाल प्रवेश गराउने गरेको खुलेको छ । नक्कली आधार कार्ड बनाएर बंगलादेशीलाई नेपाल छिराउने गिरोहका एक जना पक्राउ परेपछि यो खुलासा भएको हो ।

 

भारत–नेपाल सीमामा नक्कली आधार कार्ड बनाएर बंगलादेशीलाई नेपाल छिराउने गिरोहमध्येका एक भारतीय नागरिक सोनाई सरकारलाई शुक्रबार प्रहरीले पक्राउ गरेको थियो । गोप्य सूचनाका आधारमा खोरीबारीको बतासी बदराजोतस्थित एक अनलाइन सेन्टरमा प्रहरीले छापा मारेको थियो । त्यस क्रममा तीन थान नक्कली आधार कार्डसहित कम्प्यूटर, हार्ड डिस्क र प्रिण्टर प्रहरीले जफत गरेको छ ।

 

अभियुक्त सरकारलाई शनिबार सिलिगुडी अदालतमा म्याद थप गरी हिरासतमा राखेर अनुसन्धान सुरु गरिएको छ ।

 

अभियुक्तलाई यसअघि गत २ अक्टोबर २०२३ मा बंगलादेशी नागरिकलाई अवैध आधार कार्ड बेचेको आरोपमा पक्राउ गरेर छाडिएको थियो । नक्सलबारी प्रहरी चौकीकी उपप्रमुख नेहा जैनले छापा मारेका स्थानमा केही नेपाली समेत नक्कली आधार कार्ड बनाउन पुगेको बताइन् । नक्कली आधार कार्ड बनाएबापत गिरोहले १० देखि २० हजार भारुसम्म असुल्ने गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

 

खासगरी पूर्वी नाका वारपार गर्न भारतीय सुरक्षाकर्मीले अनिवार्य रूपमा परिचय पत्र माग्ने गरेका छन् । जसका कारण बंगलादेशी, भुटानी, बर्मेली र रोहिङग्या शरणार्थीहरू नक्कली आधार कार्डका आधारमा निर्वाध नेपाल आउजाउ गर्दै आएका छन् । यसले नेपाल र भारत दुवैतिर सीमा सुरक्षामा गम्भीर चुनौती पैदा गरेको छ ।

Facebook
Twitter
LinkedIn
Pinterest
Pocket
WhatsApp

सम्बन्धित खबर

ताजा समाचार

लोकप्रिय समाचार