तिहारको चहलपहल सुरु भएसँगै देशभरका सुनचाँदी पसलमा सर्वसाधारणको भिड सुरु भएको छ । तिहारलाई नेपालीहरूको दोस्रो ठुलो चाडकारुपमा लिइन्छ । तिहारमा धनकी देवी अर्थात् लक्ष्मी पूजा समेत भएकाले उच्च मात्रामा सुनचाँदीको व्यापार हुन्छ । आज धनतेरस परेकाले देनभरका सुनचाँदी पसलमा भिडभाड सुरु भएको हो ।
नेपालको अर्थतन्त्रमा दसैंपछि सबैभन्दा बढी बजार चलायमान तिहारमा नै हुन्छ । तिहार सुरु हुनुअघि धनतेरसको अवसरमा नेपालको सुनचाँदी बजार गुलजार बन्ने नेपाल सुनचाँदी व्यवसायी महासंघको भनाई छ । महासंघका निवर्तमान अध्यक्ष मनिरत्न शाक्यका अनुसार आज बिहानैदेखि देशभरका सुनचाँदी पसलमा भिड सुरु भएको छ । यो भिड सुन र चाँदीका गरगहना वा सिक्का (असर्फी) किन्नका लागि हो ।
धनतेरसमा सुनचाँदी र अन्य धातुका सामाग्री (गरगहना वा सिक्का) किनेर घर भित्र्याए वर्ष भरी धन लाभ हुने कथन जनमानसमा छ । यही कारण, आज धनतेरसका दिन सुनचाँदी किनेर लक्ष्मी पूजाको दिन पूजा गर्दा धनकीदेवी लक्ष्मी प्रसन्न हुने बताइन्छ । यही कारण, देशभरका सुनचाँदी पसलमा गरगहना किन्ने घुइँचो लागेको हो ।
धनतेरसको दिनमा आजको बजार भाउअनुसार डेढ अर्ब रुपैयाँभन्दा बढीको सुनचाँदीका गहना बिक्ने आँकलन सुनचाँदी व्यवसायी महासंघले गरेको छ । वरिष्ठ उपाध्यक्ष धर्मराज बज्राचार्यका अनुसार कम्तीमा ५० किलोग्राम सुन र ३ हजार किलोग्राम चाँदी बिक्ने प्रक्षेपण महासंघले गरेको छ । यस आधारमा आजको दिनमा मात्रै १ अर्ब ५० करोड रुपैयाँभन्दा बढीको सुनचाँदी बिक्री हुन्छ ।
नेपाली बजारमा दैनिक सामान्यतया १० देखि २० किलोग्राम सुन बिक्दै आएको छ । तर, आजको दिनमा यसको दुई गुणासम्म बढी सुनचाँदीका गहना बिक्ने बताइन्छ । ‘५० देखि ६० किलोग्राम सुन बिक्छ भने ३ हजारदेखि ४ हजार किलोग्राम चाँदी बिक्छ,’ बज्राचार्यले भने । यद्यपि, सुनचाँदीको मूल्यवृद्धि र आर्थिक शिथिलताका कारण विगतका वर्षहरूको तुलनामा धनतेरसको दिन बिक्री घटेको छ ।
‘कोभिडअघि दैनिक कम्तीमा ६० किलोग्रामसम्म सुन बिक्थ्यो,’ बज्राचार्यले बैंकिङ्ग समाचारसँग भने, ‘तर, कोभिडपछाडि सुनको मूल्य बढ्न थाल्यो र सर्वसाधारणको आम्दानी समेत खुम्चियो । जस कारण, सुनचाँदीको बिक्री समेत घट्न थाल्यो ।’ सुनचाँदीको बिक्री खस्केकाले नै ५० किलोसम्म सुन र ३ हजार किलोग्राम चाँदी बिक्ने आँकलन गरिएको उनको भनाई छ ।
५० किलोग्राम सुन बिक्री भएमा आज कम्तीमा ७२ करोड रुपैयाँको सुन बिक्छ । एक किलोग्राम सुनमा ८५ तोला ७३ लाल सुन हुन्छ । आजको सुनको बजार भाउ १ लाख ६८ हजार ५०० रुपैयाँ छ । यस आधारमा ५० किलोग्राम सुनको मूल्य ७२ करोड २० लाख रुपैयाँ हुन आउँछ ।
यस्तै, ५४ करोड रुपैयाँभन्दा बढीको चाँदी बिक्ने अपेक्षा गरिएको छ । आजको चाँदीको बजार भाउ २१ सय रुपैयाँभन्दा बढी छ। यस आधारमा ३ हजार किलोग्राम चाँदीको मूल्य ५४ करोड ११ लाख रुपैयाँ हुन आउँछ । देशभरका विभिन्न सहरमा छरिएर रहेका २० हजार हाराहारी सुनचाँदीका पसलबाट यो मूल्यको सुनचाँदी बिक्री हुने महासंघले जानकारी दिएको छ ।