काठमाडौँ, १३ माघ : उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले नेपालको आर्थिक समृद्धि र स्थिरतामा चिनियाँ सहयोग महत्वपूर्ण रहेको बताउनुभएको छ । सिल्क रोड इन्टरनेसनल थिङ्क ट्याङ्क एक्स्चेन्ज सेन्टर, चीनको बेइजिङ भाषा तथा सांस्कृतिक विश्वविद्यालय र साइनो नेपाल मिडिया सोसाइटीले आज यहाँ आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दैै उहाँले पूर्वाधार नेपाल–चीन सहकार्यका आधारस्तम्भका रुपमा रहेको बताउनुभयो ।
उपप्रधानमन्त्री श्रेष्ठले सडक, पुल र ऊर्जालगायत ठूला परियोजनाबाट बढाइएको ‘कनेक्टिभिटी’ले द्विपक्षीय सम्बन्धलाई मात्र बलियो बनाउनाका साथै क्षेत्रीय सहयोग र आपसी एकतामा पनि महत्वपूर्ण टेवा दिएको बताउनुभयो । “दुई मुलुकबीच आपसी सम्बन्ध अभिवृद्धि गर्न सांस्कृतिक आदानप्रदान शक्तिशाली माध्यम हुन्”, उहाँले भन्नुभयो, “साझा सांस्कृतिक सम्पदा तथा सदियौँदेखिका परम्पराले पारस्पारिक समझदारी कायम गर्न बलियो आधार प्रदान गरेको छ ।”
नेपाल र चीनबीचको दीर्घकालीन सामाजिक–आर्थिक सम्बन्ध साझा विकासको दृष्टिमा अनुपम नमूना भएको उल्लेख गर्दै मन्त्री श्रेष्ठले दिगो विकास र समावेशी समृद्धिको लक्ष्य प्राप्तिमा आपसी प्रयास आवश्यक रहेकामा जोड दिनुभयो ।
चीनले अगाडि सारेको ‘बेल्ट एन्ड रोड इनिसिएटिभ’ (बिआरआई) अवधारणा दक्षिण एसियाको आर्थिक परिदृश्यलाई आकार दिने महत्वपूर्ण साधनका रुपमा उभिएको उल्लेख गर्र्दै उपप्रधानमन्त्री श्रेष्ठले कनेक्टिभिटी, पूर्वाधार विकास र आर्थिक सहयोग अभिवृद्धिमा बिआरआईले जोड दिएको बताउनुभयो । “दक्षिण एसियाली क्षेत्रमा नयाँ सम्भावना खोल्ने, व्यापारलाई सहज बनाउने र आर्थिक वृद्धिलाई प्रोत्साहन गर्ने विषयलाई बिआरआईले परिकल्पना गरेको छ, नेपालजस्ता राष्ट्रका लागि यी पहलले आर्थिक रुपान्तरण गर्न सहज हुन्छ”, उहाँले भन्नुभयो ।
नेपाल–चीन सम्बन्ध सदियौँ पुरानो तथा पारस्परिक सम्मान, समझदारी र सहयोगमा आधारित रहेको उल्लेख गर्दै उपप्रधानमन्त्री श्रेष्ठले दुई देशबीचको सम्बन्ध कूटनीतिक र आर्थिक क्षेत्रमा मात्र नभई सांस्कृतिक र शैक्षिक क्षेत्रमा पनि प्रगाढ हुँदै गएकामा खुसी व्यक्त गर्नुभयो । “हालैका वर्षमा नेपाल–चीन सम्बन्धमा उल्लेखनीय प्रगति भएको छ, नेपालको सामाजिक–आर्थिक विकासमा सहयोग गर्ने चीनको प्रतिबद्धता अटल रहेको छ”, उहाँले भन्नुभयो, “बिआरआईले कनेक्टिभिटी बढाउने र आर्थिक सहयोगलाई प्रवद्र्धन गर्ने लक्ष्य राखेको छ, यसबाट दुई राष्ट्रबीच सहकार्यका लागि नयाँ ढोका खुलेको छ ।”
नेपालका लागि चिनियाँ दूतावासका वाणिज्य सल्लाहकार सी युले नेपाल र चीनबीचको सम्बन्ध मित्रता, आपसी विश्वास र रणनीतिक साझेदारीमा आधारित रहेको बताउनुभयो । दुई देशले विकास र समृद्धितर्फ उन्मुख दिगो मित्रताको रणनीतिक साझेदारी स्थापना गरेको उल्लेख गर्दै उहाँले चीन–नेपाल मित्रताले नयाँ अध्यायको ढोका खोलेको बताउनुभयो ।
भक्तपुरको मध्यपुर ठिमी नगरपालिकाका उपप्रमुख विजयकृष्ण श्रेष्ठले मध्यपुरलाई पर्यटकीय नगरी बनाउन गुरुयोजना निर्माणको तयारी गरिएको जानकारी दिँदै मध्यपुरमा चिनियाँ पर्यटकलाई स्वागत गर्न आफूहरु आतुर रहेको बताउनुभयो ।