काठमाडौँ : अमेरिकी डलर देखाएर रू पाँच लाख ठगी गरेको अभियोगमा प्रहरी वृत्त कीर्तिपुरको टोलीले सिन्धुपाल्चोक बाह्रविसेका ४३ वर्षीय कुमार तामाङ भन्ने हस्तबहादुर तामाङलाई पक्राउ गरी बिहिबार सार्वजनिक गरेको छ ।
यही पुस ९ गते कीर्तिपुर नगरपालिका–९ चोभार जलविनायक मन्दिरस्थित ललितपुर गोदावरीका ३६ वर्षीय विजय कुँवरलाई अमेरिकन डलर साट्ने भन्दै ५० अमेरिकन डलर देखाएर रू पाँचलाख ठगी गरेको अभियोगमा निजलाई पक्राउ गरिएको थियो ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता, प्रहरी उपरीक्षक कुमोद ढुङ्गेलले पक्राउ गरिएका तामाङले कुँवरलाई आफूले आठ हजार अमेरिकी डलर भेटाएको भनी भ्रममा पारेर पाँच लाख लिएर फरार भएका बताउनुभयो । पक्राउ परेका निजलाई प्रहरीले काठमाडौँ जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान गरिरहेको उहाँले जानकारी दिनुभयो ।