ब्राजिलले गर्यो दिवङ्गत महान फुटबल खेलाडी जगालोलाई अलविदा

रियो डे जेनेरियो, २२ पुस : चार पटकको विश्वकप विजेता खेलाडी तथा प्रशिक्षक ९२ वर्षको उमेरमा निधन हुनुभएका मारियो जगालोलाई ब्राजिलियाली जनताले आइतबार अन्तिम श्रद्धाञ्जलि दिएका छन् । उहाँ ब्राजिलको सबैभन्दा महान फुटबल पुस्ताको अन्तिम सदस्य हुनुहुन्थ्यो ।

रियो डे जेनेरियोमा ब्राजिलियाली फुटबल परिसङ्घ (सिबिएफ) को मुख्यालयमा उहाँको कफिनअगाडि शोक सन्तप्त मानिस कालो, ब्राजिलको राष्ट्रिय टिमको पहेँलो तथा जगालोले खेल्ने र प्रशिक्षण गर्नुभएका क्लबहरूको रङका कपडा लगाएका थिए ।

फिताले टाँसिएको कफिननजिकै ब्राजिलको रेकर्ड पाँच विश्वकप ट्रफीहरू पनि प्रदर्शन गरिएको थियो । फुटबल इतिहासमा सबैभन्दा बढी पाँचमध्ये चारवटा जित्नमा आफ्नो रणनीतिक प्रतिभाका लागि परिचित लेफ्ट विङ जगालोको हात थियो ।

‘प्रोफेसर’ का रूपमा पनि चिनिने उहाँले ब्राजिलको सन् १९५८ र सन् १९६२ विश्वकप विजेता टिममा पेलेसँग खेल्नुभएको थियो । त्यसपछि उहाँ पेलेले खेल्नुभएको सन् १९७० विश्व च्याम्पियन टिमको प्रशिक्षक बन्नुभयो । उक्त टिमलाई धेरै मानिसले इतिहासको सबैभन्दा महान टिम मान्छन् । साथै सन् १९९४ मा ‘सेलेकाओ’ (ब्राजिलको राष्ट्रिय टिमको उपनाम) ले उक्त उपलब्धि दोहोर्याउँदा उहाँले सहायक प्रशिक्षकका रूपमा काम गर्नुभयो ।

“उहाँले फुटबलमा इतिहास रच्नुभयो, यो ठूलो नोक्सानी हो”, प्रसिद्ध क्लब फ्लेमेङ्गोका पूर्वअध्यक्ष एडुआर्डो बान्डेरा डे मेलोले भन्नुभयो, “उहाँले सन् १९७० मा राष्ट्रिय टिमसँग जे गर्नुभयो त्यो हरेक प्रशिक्षकका लागि प्रेरणा हुनुपर्छ ।” जगालो फ्लेमेङ्गोमा खेलाडी तथा व्यवस्थापक दुवै हुनुहुन्थ्यो ।

हालैका महिनाहरूमा धेरै स्वास्थ्य समस्याको सामना गरेपछि रियो अस्पतालमा मल्टिपल अर्गन फेल्योरका कारण जगालोको शुक्रबार निधन भएको छ । सार्वजनिक जागरणपछि निजी सामूहिक प्रार्थनासभा हुनेछ र त्यसपछि उहाँको शवलाई साओ जोआओ बतिस्ता कब्रस्तानमा गाडिने छ । उक्त कब्रस्तान ब्राजिलका केही सबैभन्दा प्रसिद्ध नागरिकहरूको अन्तिम विश्राम स्थल हो ।

राष्ट्रपति लुइज इनासियो लुला दा सिल्भाले जगालोलाई ‘सर्वकालीन महान फुटबल खेलाडी तथा प्रशिक्षकहरू मध्ये एक’ भन्दै उहाँको निधनमा शनिबारदेखि तीन दिनसम्म राष्ट्रिय शोकको घोषणा गर्नुभयो र सम्पूर्ण ब्राजिलमा आधा झन्डा झुकाउन आदेश दिनुभयो ।

फुटबल जगत्बाट पनि श्रद्धाञ्जलि दिइएको छ । फिफा अध्यक्ष गियानी इन्फेन्टिनोले जगालोको प्रभाव ‘सर्वोच्च’ रहेको बताउनुभयो । विश्वकप विजेता रोनाल्डिन्हो, रोमारियो र काफुले श्रद्धाञ्जलि व्यक्त गर्नुभयो र हाल ब्राजिल तथा रियल मेड्रिडका स्टार भिनिसियस जुनियरले उहाँलाई ‘लिजेन्ड’ भन्नुभयो ।

खेलाडी र प्रशिक्षक दुवै रूपमा विश्वकप जित्ने एकमात्र अन्य पुरुषमा जर्मनीका फ्रान्ज बेकनबाउर (सन् १९७४ र सन् १९९०) तथा फ्रान्सका डिडिएर डेसच्याम्प्स (सन् १९९८ र सन् २०१८) हुनुहुन्छ ।

Facebook
Twitter
LinkedIn
Pinterest
Pocket
WhatsApp

सम्बन्धित खबर

ताजा समाचार

लोकप्रिय समाचार