दुई विद्यालयका विद्यार्थीलाई शैक्षिक सामग्री सहयोग

हुम्ला, १४ पुस : लामो समयदेखि व्यवसाय एवं विद्यार्थी राजनीतिमा होमिँदै आउनुभएका हुम्लाको खार्पुनाथ गाउँपालिका–१ का खेम खड्काले सानोमा आफूले अध्ययन गरेको विद्यालयमा शैक्षिक सामग्री सहयोग गर्नुभएको छ ।

वडा नं १ मा रहेका दुई भानुभक्त आधारभूत विद्यालय गोप्काका दुई सय र मोतीराम आधारभूत विद्यालय देउखुरीका ६० विद्यार्थीलाई शैक्षिक सामग्री राजनीतिकर्मी खड्काले सहयोग गर्नुभएको हो । खड्काले आफ्नै व्यक्तिगत खर्चमा यी दुई विद्यालयका दुई सय ६० विद्यार्थीलाई प्रतिविद्यार्थी कापी, कलम, पेन्सिल, इलेजरलगायत शैक्षिक सामग्री सहयोग गर्नुभएको हो ।

विद्यालयलाई खेलकुद सामग्री चेस, लुडोलगायत सामग्री हस्तान्तरण गरिएको भानुभक्त आभारभूत विद्यालयका प्रधानाध्यापक पूर्ण बुढाले बताउनुभयो । खड्काको सहयोगले विद्यार्थीलाई राहत मिलेको प्रधानाध्यापक बुढाले बताउनुभयो ।

राजनीतिकर्मी तथा युवा व्यवसायी खड्काले कक्षा ४ सम्म गाउँमै रहेको विद्यालयमा अध्ययन गरेर त्यसपछि सहर केन्द्रित भएर अध्ययन गरेको बताउनुभयो । “मेरो सानो सहयोगले विद्यार्थीलाई थप ऊर्जा मिल्नेछ । हामीले सानो छँदा गाउँमै रहेको विद्यालयमा पढ्छौँ, पछि उच्च शिक्षाका लागि जिल्ला बाहिर जाँदा बिर्सन्छाँै”, खड्काले थप्नुभयो, “गाउँमा सबैले कापी, कलम किन्नसक्ने अवस्था छैन, यो मेरो सानो सहयोगले गरिब, दुःखी, विधवा महिलाका घरपरिवारका बालबालिकालाई राहत मिलेको छ ।”

काठमाडौँमा रहेर व्यवसाय गरे पनि गाउँघरप्रति माया देखाएको भन्दै खार्पुनाथ–१ का वडाध्यक्ष जयबहादुर शाहीले खड्काको प्रशंसासमेत गर्नुभएको थियो । अझै गाउँघरको माया र सहयोगका लागि आशवादी रहेको वडाध्यक्ष शाहीको भनाइ थियो ।

सहयोगी मन भएका खड्का नेपाली कांग्रेसको भ्रातृ सङ्गठन नेविसङ्घ हुम्लाको नेता हुनुहुन्छ । उहाँले यी दुई विद्यालयमा करिब रु ५० हजार बराबरको शैक्षिक सामग्री सहयोग गर्नुभएको हो । खड्काको गोप्का गाउँमा भव्यताका साथ बाजागाजासहित स्वागतसमेत गरिएको थियो ।

Facebook
Twitter
LinkedIn
Pinterest
Pocket
WhatsApp

सम्बन्धित खबर

ताजा समाचार

लोकप्रिय समाचार