हात्ती धपाउन रातभर जाग्राम

कञ्चनपुर, ५ पुस : खेतभर हात्तीका डोबैडोब छन् । ठाउँठाउँमा आगो बालेको खरानीको थुप्रो छ। टुसाउन लागेको गहुँबाली कुल्चिएको छ । खेतको किनारमा लहरै प्लाष्टिक झुण्ड्याइएका छन् ।

हात्ती धपाउन स्थानीयले अपनाएको यो जुक्तिले काम गरेको छैन । भीमदत्त नगरपालिका–१९ बागफाँटाका स्थानीय अँध्यारो हुनेबित्तिकै हात्ती धपाउन खेतमा व्यस्त हुन्छन् । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जसँगै जोडिएको बागफाँटाको बैजनाथ टोलमा एक सातादेखि जङ्गली हात्तीले आतङ्क मच्चाइरहेको छ ।

निकुञ्जबाट आउने हात्तीको बथानबाट खेत र घरभित्रको खाद्यान्न जोगाउन स्थानीय बासिन्दा रातभर जाग्राम बस्न बाध्य छन् । “राति पर्नेबित्तिकै हात्ती आइहाल्छन् । घर र खेतको बालीनाली जोगाउनै हम्मेहम्मे पर्छ”, स्थानीय लक्ष्मी महराले भन्नुभयो, “गहुँका बोट साना छन् । त्यसैले खान नसक्दा हात्ती सिधैँ घर भएतिर आउन खोज्छन् ।”

होहल्लाका साथै पटाका पड्काएर हात्ती धपाउने गरेको उहाँले बताउनुभयो । एक सातादेखि निरन्तर हात्तीको बथान आउन थालेकाले राम्ररी सुत्न नपाइएको उहाँको भनाइ छ । “आगो बालेर चिसोमा खेतमै रात काट्छौँ । दश–बीसको सङ्ख्यामा हात्ती आउँछन्”, उहाँले भन्नुभयो, “निकुञ्जबाट हात्ती सुरुमा यहाँ पस्छन् । त्यसपछि खानेकुरा केही नपाएपछि अन्यत्र जान्छन् ।”

जङ्गली हात्ती घरनजिकै पुग्न थालेपछि स्थानीय बासिन्दा त्रसित बनेका छन् । स्थानीय ठगुराम डगौँराले एक सातादेखि सुत्न पाउनुभएको छैन । हात्ती घरनजिकै आउन थालेपछि त्रसित भएर बस्नुपरेको उहाँको भनाइ छ । “छिमेकमा हात्तीले सेफ्टीट्याङ्की भत्कायो । कतिबेला घरभित्रै पस्ने खतरा छ । डराइडराइ बस्नुपरेको छ”, उहाँले भन्नुभयो, “खेतको गहुँ पूरै कुल्चिएको छ ।”

डगौँराले यहाँ दुई बिघा जमिनमा गहुँखेती गर्नुभएको छ । राति विद्युत्को व्यवस्था नहुँदा अँध्यारोमा आगो बालेर हात्ती धपाउनुपरेको स्थानीय खड्कसिंह विष्टले बताउनुभयो । “साइरन माग गरेको डेढ वर्ष बितिसक्यो । अहिलेसम्म पाएका छैनौँ । उज्यालोको व्यवस्था पनि छैन”, उहाँले भन्नुभयो, “छवटा चिम मागका थियौँ । बजेट अभाव भएको भन्दै नगरपालिकाले दिएन ।”

‘साइरन’ भए हात्ती धपाउन सहज हुने स्थानीयको विश्वास छ । निकुञ्जको मध्यवर्ती क्षेत्रका स्थानीय बासिन्दा वन्यजन्तुको पीडाले हायलकायल छन् । भीमदत्त नगरपालिकाका नगर प्रवक्ता महेन्द्र खड्का उज्यालोका लागि तत्काल बल्ब उपलब्ध गराउने प्रतिबद्धता जनाउनुहुन्छ ।
“निकुञ्जसँग जोडिएको बस्तीमा जङ्गली जनावरको समस्या छ । धेरै ठाउँमा उज्यालोका हामीले बल्ब उपलब्ध गराएका छौँ”, उहाँले भन्नुभयो, “छुटेका ठाउँमा उज्यालोका लागि तत्कालै बल्ब वितरण गर्छौँ ।”

Facebook
Twitter
LinkedIn
Pinterest
Pocket
WhatsApp

सम्बन्धित खबर

ताजा समाचार

लोकप्रिय समाचार