महिलालाई शिक्षामा प्रतिबन्ध लगाउनु गलत भएको तालिबानी मन्त्रीद्धारा स्विकारोक्ति

काबुल, २२ मंशिर । महिलामाथि सबै प्रकारका प्रतिबन्ध लगाउने तालिबानले आफ्नो गल्ती महसुस गरेको छ ।

अफगानिस्तानमा तालिबानद्वारा नियुक्त उप विदेशमन्त्री शेर मोहम्मद अब्बास स्टानिकजाइले तालिबानबाट मानिसहरू टाढा हुदैँ जानुको मुख्य कारण महिला शिक्षामा निरन्तर प्रतिबन्ध रहेको बताएका छन्।

एक कार्यक्रममा बोल्दै उप परराष्ट्रमन्त्रीले कक्षा ६ देखि छात्राका लागि विद्यालय पुनः खोल्ने महत्वमा जोड दिँदै ज्ञानविना समाजमा उज्यालो हुन नसक्ने बताए ।

समाचार अनुसार तालिवानको सीमा तथा जनजातीय मामिला मन्त्रालयले शैक्षिक संस्थाहरूमा अध्ययनरत विद्यार्थीहरूको स्नातकको उपलक्ष्यमा समारोह आयोजना गरेको थियो। सो कार्यक्रममा स्टानिकजाईले शिक्षा सबैको अधिकार भएको बताए । ‘अल्लाह र पैगम्बरले दिएको यो प्राकृतिक अधिकार हो, यो अधिकार उनीहरूबाट कसैले कसरी खोस्न सक्छ ? यदि कसैले यो अधिकार हनन गर्छ भने त्यो अफगान र यहाँका जनतामाथिको अत्याचार हो,’ उनले  भने ।

उनले अगाडी भने, ‘शिक्षा संस्थाका ढोका सबैका लागि खोल्न पहल गरिनुपर्छ। छिमेकी र विश्वसँग आज हाम्रो एउटै समस्या शिक्षा हो। शिक्षाको समस्याले गर्दा मान्छेहरू हामीबाट टाढा सर्दैछन् र हामीसँग रिसाउँदै छन् भने त्यो शिक्षाकै कारण हो ।’

तालिबानद्वारा नियुक्त सीमा तथा जनजाति मामिलाका कार्यवाहक मन्त्री नुरुल्लाह नूरीले शिक्षाको पहुँच नभएका दुर्गम क्षेत्रमा बस्ने युवाहरूलाई विद्यालयमा भर्ना गरिएको बताए। उनले धार्मिक र आधुनिक शिक्षामा कुनै दुरी नरहेको पनि जोड दिएका छन् ।

उल्लेखनीय छ कि अफगानिस्तानमा तालिबान सत्तामा आएपछि महिलाहरूलाई माध्यमिक विद्यालय जान प्रतिबन्ध लगाइएको थियो, त्यसपछि उनीहरूका लागि विश्वविद्यालयका ढोकाहरू बन्द गरिएका थिए।

तालिबानद्वारा नियुक्त कार्यवाहक शिक्षा मन्त्री हबिबुल्लाह आगाले हालै देशका धार्मिक विद्यालयहरूमा शिक्षाको खराब गुणस्तरको आलोचना गरेको पनि टोलो न्यूजले जनाएको छ ।

Facebook
Twitter
LinkedIn
Pinterest
Pocket
WhatsApp

सम्बन्धित खबर

ताजा समाचार

लोकप्रिय समाचार