वर्षा र हावाहुरीले केराखेतीमा क्षति

कैलाली, १ कात्तिक : यो समय केरा किसानले उत्पादन बजारमा पठाउने समय हो । कैलालीका किसान आजभोलि उत्पादन भएको केरा बजारमा पठाउन थालेका छन् । केरा तयार भएर आम्दानी लिने समयमा आएको बेमौसमी वर्षासँगैको हावाहुरीले किसानलाई नोक्सान भएको छ । हावाहुरीले किसानको तयार भएका केराखेतीमा करोडौँको क्षति पुर्याएको किसानको गुनासो छ । असोज २९ गते सोमबार वर्षासँगै आएको हावाहुरीले कैलालीमा किसानका धानबाली र केराखेतीमा क्षति भएको छ ।

पाँच बिघा क्षेत्रफलमा केराखेती गर्नुभएको टीकापुर–५ झन्झटपुरका रेवन्त साउदको केराबारीमा करिब ७५ प्रतिशत क्षति भएको छ । बारीमा भएका अधिकांश केराका बोट हावाहुरीले ढालिदिएको छ । उत्पादन लिने समयमा हावाहुरीले एकैपटक क्षति पुर्याउँदा उहाँ निकै दुःखी हुनुहुन्छ । “उत्पादन लिने बेलामा हावाहुरीले केराका सबै बोट नोक्सान गर्यो”, उहाँले भन्नुभयो, “वर्षभरिको मेहनत खेर गयो, लगानी पनि डुब्यो ।”

अर्का केरा उत्पादक किसान रामबहादुर कुँवरले पनि जोशीपुरको झवही, टीकापुरको शङ्करपुर, जानकीको गोलौरीमा गरी ३२ बिघा क्षेत्रफलमा केराखेती गर्नुभएको छ । उहाँको बारीमा पनि क्षति भएको छ । “अहिलेसम्म कति ढले भन्ने यकिन गर्न सकेको छैन, जताबाट हेर्दा नि नोक्सान भएको छ”, उहाँ भन्नुहुन्छ, “किसानलाई कसैगरी पनि उभो लाग्ने वातावरण छैन, गएको वर्ष खडेरीले केरा बिग्रियो अहिले फेरि हावाहुरीले ठूलो क्षति गर्यो ।”

अर्का किसान टेकेन्द्र धामीको पनि करिब ३० प्रतिशत क्षति भएको छ । धामीका अनुसार बाहिरबाट हेर्दा त्यति होलाजस्तो छ तर भित्र पस्न पाएको छैन, अझै धेरै पनि हुनसक्छ ।

केरा उत्पादक सङ्घ कैलालीका अध्यक्ष दीपेन्द्र थारूका अनुसार कैलालीमा समग्रमा हावाहुरीले ३० प्रतिशत केरामा क्षति पुर्याएको छ । त्यसमा पनि टीकापुर नगरपालिकामा बढी क्षति भएको छ । “कुनै किसानको त ७०–८० प्रतिशतसम्म पनि क्षति भएको छ”, थारूले भन्नुभयो, “यो क्षतिलाई हेर्दा करोडभन्दा धेरै क्षति भएको छ ।” हावाहुरीले गरेको क्षतिको यकिन विवरण आउन अझै केही दिन लाग्ने थारूले बताउनुभयो ।

अध्यक्ष थारूले बर्सेनि केराखेतीलाई हावाहुरीले यसरी क्षति गरिरहने भएकाले सबै केरा उत्पादक किसानलाई बाली बीमा गर्न आग्रहसमेत गर्नुभएको छ । “हामीले बाली बीमा गर्नुस् भनिरहेका छौँ”, उहाँ भन्नुहुन्छ, “बाली बीमा गर्दा केही मात्रामा भए पनि किसानलाई राहत पुग्छ ।”

कैलाली जिल्लामा करिब एक हजार दुई सय हेक्टरमा केराखेती हुने गरेको छ । जसमा आठ सय हेक्टर क्षेत्रफल टीकापुर क्षेत्रमा मात्र केराखेती गरिएको छ । सोमबार आएको हावाहुरीले नागरिकका घरमा समेत क्षति पुर्याएको छ । हावाहुरीले टीकापुरकोे वडा नं ४ मा २६ वटा घरमा क्षति गरेको वडाध्यक्ष लालवीर चौधरीले बताउनुभयो ।

Facebook
Twitter
LinkedIn
Pinterest
Pocket
WhatsApp

सम्बन्धित खबर

ताजा समाचार

लोकप्रिय समाचार